काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सबै दलहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।
“‘देशले अहिले कुशासन भोग्नु परेको अनुभूति हुन्छ, तलदेखि माथिसम्म भ्रष्टाचार विकेन्द्रीकरण भइरहेका छन्”, उनले भने, “यसलाई रोक्न सबै एकजुट हुन आवश्यक छ, भ्रष्टाचार गर्नेहरूलाई राजनीतिक दलहरूले आड भरोसा दिइरहेका छन्, त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा हुनुपर्छ ।”
उनले मुलुकको कमसल अर्थतन्त्र भएकोमा चिन्ता व्यक्त गरे ।
उनले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण दिएका छन् । केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले २०५४ सालमा र २०७८ सालमा सभामुखले एमाले विभाजन गरिदिएको आरोप लगाएका थिए । उनले निष्ठाको राजनीति पाखा लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले कांग्रेस र कम्युनिष्ट मिल्ने कि नमिल्ने विषयमा गम्भीर हुन जरुरी रहेको बताए । संविधानलाई फाल्नको लागि हर्कत भइरहेको उनको टिप्पणी छ ।