भरतपुर । सडक सञ्जाल र सवारी संख्या बढेसँगै सवारी दुर्घटनापनि धेरै हुन थालेका छन् । बागमती प्रदेशभित्रका जिल्लाहरुमा धेरै सवारी दुर्घटना जिल्लाका रुपमा चितवन अगाडी पर्छ । पछिल्लो ६ महिनामा चितवनमा १ सय ९३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २ सय ७७ सवारीहरु परेका छन् । ४५ जनाले ज्यान गुमाएका छन् । १ सय ७ जना गम्भीर तथा २ सय ४० जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले ट्राफिक नियम पालना नहुदा धेरै सवारी दुर्घटना भएको बताए । उनका अनुसार तीव्र गती, लेन अनुशासन नमान्ने दुर्घटनाका मुख्य कारण छन् ।
चालु आर्थिक वर्षमा भएका सवारी दुर्घटनाका प्रकृति केलाउँदा तीव्र गतीमा चलेका धेरै गाडी दुर्घटनामा परेका छन् । १ सय ५२ वटा दुर्घटना तीव्र गतीकै कारण भएको देखिएको छ । सडकको अवस्थाका कारण ७ वटा, मापसेबाट ६ वटा, यात्रुको गल्तीबाट ५ वटा, ओभरटेकबाट ३ वटा, चालकको लापरवाहीका कारण ३ वटा दुर्घटना भएका छन् ।