पोखरा । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २६ जनाको शव पहिचान भएको छ । ७२ जना सवार यती एयरको विमान आइतबार बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो । ६८ जनाको मृत्युु भएको पुष्टि भएको छ ।
पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर छन् ।
पर्वतको कुश्मा -१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा -९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।
हराइरहेका ४ जनाको बिहानैदेखि खोजि भइरहेको छ । दुर्घटनामा मृत्यु भएर पहिचान खुलेका शव आजै परिवारलाई जिम्मा लगाइँदै छ ।