काठमाडौं । विद्यार्थी नेताहरुलाई चुनावी राप सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यही चैत ५ गते हुँदैछ । त्रिभुवन विश्वविद्यालयले तयारी थालेसँगै विद्यार्थी संगठनहरु पनि नेतृत्व लिने दाउ बनाउने योजनामा सक्रिय हुन थालेका छन् । विद्यार्थी नेताहरुले कलेजहरुमा संगठन विस्तार तीव्र बनाएका छन् । भेला, छलफल, कमिटि गठनमा व्यस्त बनेका छन् ।
२०५६ सालयता नियमित हुन नसकेको स्ववियु चुनाव यसपाली पनि होला भन्नेमै सशंकित छन् । स्ववियु चुनाव हरेक २–२ वर्षमा हुनुपर्ने व्यवस्था छ । त्रिभुव विश्वविद्यालय अन्र्तगत ६२ आंगिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरु छन् । निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको अवस्था छ ।
केन्द्रीय सरकारमा ७ दलीय गठबन्धन रहेपनि प्रधानमन्त्री प्रचण्डले दुई साना दलबाहेक सबै दलबाट विश्वासको मत लिएपछि स्ववियु चुनावको रणनीति कस्तो बन्नेछ भनेर आँकलन गर्न सहज छैन ।
कांग्रेसको नेविसंघ, एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एकीकृत समाजवादीको अनेरास्ववियु लगायतले चुनावको तयारी बढाएका छन् । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा माघसम्म संगठन निर्माण काम सकेपछि फागुनदेखि चुनावी तयारी व्यापक बनाइने बताउँछन् । नेतृत्व जन्माउने थलोका रुपमा स्ववियु चुनावलाई लिएको उनी तर्क गर्छन् । ६ महिना अघि सकिएका सबै तहका परीक्षाको नतिजा सार्वजनिक गरे स्ववियु चुनावमा रौनकता आउने उनको टिप्पणी छ ।
अनेरास्ववियु महासचिव समिक बडालले स्ववियु चुनाव अगाडि नै संगठनको महाधिवेशन गर्ने योजना सुनाए । अधिवेशनहरु गरेर संगठनलाई थप सक्रिय पार्ने योजना उनले सुनाए । उनले चैत ५ को निर्वाचनको मिति कुनैपनि बहानामा सार्न नहुने बताउँछन् । उमेर हदबन्दी, निर्वाचन प्रणाली लगायतका बहाना देखाएर निर्वाचन सार्न नहुने उनको तर्क छ । स्ववियु चुनावका बेला हुनसक्ने हिंसात्मक गतिविधिहरु रोक्न सुरक्षा व्यवस्था समेत मजबुत पार्नुपर्ने उनको सुझाव छ ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले चुनाव हार्ने डरले हुने अराजक तथा तोडफोडका घटनाहरु हुन नहुने बताउँछिन् । स्ववियु निर्वाचनलाई लक्षित गरी पदाधिकारी बैठक बसेर कार्यविभाजन समेत गरिसकिएको उनले बताइन् । विद्यार्थी हकहित र विश्वविद्यालयको विकासका लागि नेतृत्व मैदानमा आउनुपर्ने वातावरण बनाउन उनको सुझाव छ । चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले सुुुरक्षाको प्रत्याभूति दिनुपर्ने बताइन् ।
एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भयरहित वातावरणमा चुनाव सम्पन्न हुनुपर्ने बताउँछन् । डर, धाक, धम्की चुनावमा प्रयोग हुनबाट रोक्नुपर्ने बताए । केही विद्यार्थी संगठनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने माग समेत अगाडी सारेका छन् ।