काठमाडौं । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताका साथ उभिने बताएका छन् । जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेको र सबै दल र विचारलाई मिलेर अघि बढ्न जनादेश दिएको उनले बताए । अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको बताए ।
मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै बढ्छु भन्ने अवस्था छैन । हामी सबैका विचारभन्दा माथि देश छ । त्यसकारण देशलाई शिरमा राखेर मुलुकको समस्या समाधान गर्न अग्रसर हुन सकौं ।’ उनले अघिल्लो संसदमा प्रतिज्ञा गरे अनुसार धेरै साथी लिएर आउन नसकेको बताएका छन् ।
४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनधिसभाको पहिलो बैठकमा बोल्दै उनले धेरै संख्यामा प्रतिनिधित्व हुन नसके पनि जनताको भावनाको बलियो प्रतिनिधिको रुपमा आएको बताए । ‘अघिल्लो कार्यकालमा यो संसद भवन छोड्ने बेलामा अलि धेरै साथी लिएर आउँछु भनेको थिएँ, धेरै त लिएर आउन सकिन, तर जनताको भावनाको एउटा बलियो प्रतिनिधिको रुपमा हामी संसदमा आएका छौं’ उनले भने ।