काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने बताएका छन् । शुक्रबार संवाद डबलीमा आयोजित अन्तक्रियामा बोल्दै उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको बताए ।
उनले माओवादी विभाजनमा विदेशी शक्तिहरूको पनि हात रहेको जीकिर गरे । विदेशी शक्तिहरूले माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियाननै चलाएको टिप्पणी गरे । कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभंग आवश्यकता रहेको बताए । उनले परिवर्तनको लागि एकता हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता परि थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य, नेकपाका केन्द्रीय सदस्य चिरन पुन, राजु कार्की, जागृत रायमाझी, अरुण गुरुङलगायतले वैज्ञानिक समाजवादीको लागि विभाजित कम्युनिस्ट नेताहरूले नयाँ शिराबाट एकठाउँमा आउनु आजको आवश्यकता रहेको बताएका बताएका थिए ।