भरतपुर । खैरहनी र राप्ती नगरपालिकाको सीमामा पर्ने कयर खोलाबाट अवैध रुपमा उत्खनन गरि राखिएका नदीजन्य पदार्थ प्रहरीले जफत गरेको छ । रत्ननगर–१४ गैरीबारी, चाउचाउ फ्याक्ट्री पछाडी, रत्ननगर–४को भोकाहाबाट बालुवा, ग्राबेल लगायतका नदीजन्य पदार्थ झण्डै २ सय २५ ट्याक्टर जफत गरेको हो ।
रत्ननगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय टाँडी लगायतको अनुगमन टोलीले थुपारेर राखेको अवस्थामा भेटिएका नदीजन्य पदार्थ रत्ननगर नगरपालिकालाई बुझाइएको छ । रत्ननगर नगरपालिकाका इञ्जिनियर पंकज गिरीले नदी दोहन बढेको जनगुनासो आएपछि प्रहरीको सहयोगमा अनुगमन गरी नियन्त्रणमा लिइएको जानकारी दिए ।
“जफत गरिएका नदीजन्य पदार्थ नगरपालिकाले विकास निर्माणमा प्रयोग गर्नेछ”, उनले भने, “अनुमति विना नदी उत्खनन् गर्नेलाई छिटै कारवाहीको दायरामा ल्याइने छ ।” नदीजन्य पदार्थको डम्पिङ भेटिएपनि कसले राख्यो भन्नेबारे खोजी जारी रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रविनबाबु रेग्मीले बताए । “वस्तीदेखि टाडा खोला आसपासमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरेर राखिएका अन्य ठाउँको पनि खोजी गर्दैछौँ”, उनले भने, “विगत ३ देखि अप्रेशन चलाइरहेका छौँ, उत्खनन् कार्य रोक्ने छौँ ।” उनले सूचना पाएलगत्तै उत्खनन् भएका स्थलमा पुगेर नियन्त्रणमा लिने र नदीजन्य पदार्थ नगरपालिकालाई बुझाउदै आइरहेको छ ।
रत्ननगरको ४, १४, १६ नम्वर वडा, खैरहनीको १, २, ४ नम्बर वडा आसपासमा कयर खोलाबाट अवैध रुपमा उत्खनन् हुने गरेको सूचना प्रहरीले संकलन गरिसकेको छ । रत्ननगर नगरपालिकाले कयर खोलामा नदीजन्य पदार्थ उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरेर राष्ट्रपति चुरे तथा जिल्ला समन्वय समितिमा प्रतिवेदन बुझाएपछि बल्ल उत्खनन् गर्न पाइनेछ ।
नगरपालिकाले यसापली ३२ हजार ८ सय घनमिटर उत्खनन् गर्ने पाउने गरी १ करोड २ लाख बराबरको ठेक्का लगाउदै छ । तर, अहिले रत्ननगरका कुनैपनि खोलामा उत्खनन् गर्ने अनुमति छैन । तर, व्यवसायीले लुकिछिपी दिनरात अवैध रुपमा उत्खनन् गर्दै आइरहेका छन् ।