काठमाडौं । नेकपा एस तत्काल सरकारमा नजाने भएको छ । नेकपा एसको बैठक सरकारमा जाने या नजानेबारे निष्कर्ष निकाल्न नसकेपछि तत्काल सरकारमा नजाने पक्का भएको हो । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार हुने देखिन्छ ।
पुरानो गठबन्धन छाडेर प्रचण्डले एमाले लगायतका ७ दलसंग मिलेर नयाँ गठबन्धन बनाएपनि नेकपा एस सरकारमा जाने–नजाने अलमलमै परेको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको दबाब रहेको स्रोतले जनाएको छ । पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भएको बताए । खतिवडाले सरकारमा सहभागि हुन सत्तारुढ दलबाट कुनै प्रस्ताव नआएको बताए ।
सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय सचिवालयलाई दिएको जानकारी दिए । शनिबार र आइतबार बसेको स्थायी कमिटीको बैठकले सरकारबारे निर्णय गर्न नसकेपछि सोमबार र मंगलबार पोलिटब्युरो बैठक बसेको थियो ।