काठमाडौं । नयाँ सरकारको साझा न्यूनतम कार्यक्रमको प्रारिम्भमक मस्यौदा लेखनको काम सुरु भएको छ । कार्यदलले आजदेखि मस्यौदा लेखनको काम सुरु गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदल रहेको छ । सरकारमा सहभागि दलका नेताका सुझाव समेटेर मस्यौदा तयार हुनेछ । सत्ता साझेदार दलहरुको बैठकले १४ पुसमा कार्यदल बनाएको थियो ।
५ दिनभित्र शीर्ष नेताहरुसमक्ष मस्यौदा बुझाउने अवधि तोकिएको छ । प्रारम्भिक मस्यौदालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् कार्यदल सदस्य मुकुल ढकालले प्रारम्भिक चरणको छलफल सकिएको जानकारी दिए ।
उनले आज (आइतबार) देखि प्रारम्भिक मस्यौदा लेखनको काम सुरु हुने बताए । अर्थतन्त्र सुधार, विकास निर्माण, छिटोछरितो सरकारी सेवा, रोजगारी सिर्जना लगायतका विषयलाई साझा कार्यक्रममा राख्ने योजना छ ।