नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ। पहिलो बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ।
एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार (आज) बिहान ११ बजे बोलाइएको छ। शुक्रबारको बैठकमा सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रबिन्दुलाई जानकारी दिए।
‘सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको छु।टेलिफोनबाट पनि जानकारी गराउँछु’, तामाङले भने। तामाङले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि नेपाल पक्षका सबै नेतालाई खबर पठाएको बताएका थिए। तर, कमिटी सदस्य रघुजी पन्तले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबारे आफूलाई थाहा नभएको केन्द्रबिन्दुसँग बताएका थिए।
‘आज बस्न लागेको बैठकमा सबैलाई बोलाइएको छ। १६ असारको बैठकमा कारबाही गरिएका ११ जना बाहेकलाई बोलाइएको थियो। तर, यसपटक उहाँहरुलाई पनि बोलाइएको छ, तामाङले थपे।
यता नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार (आज) बोलाएको केन्द्रीय कमिटी बैठक अवैध भएको निष्कर्ष निकालेको छ।
यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णयसमेत गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। बैठक बोलाउँदा पार्टीको विधान र नवौं महाधिवेशनको नीति सिद्धान्त अनुसार बोलाइनु पर्नेमा शुक्रबार ती सबैकुरालाई बेवास्ता गर्दै अबैधरुपमा बैठक बोलाएको निष्कर्ष निकालेको नेता रावलले जानकारी दिए।
प्रकाशित: १८ असार २०७८ ०७:४९ शुक्रबार