भक्तपुरमा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा एउटा बालकको शव भेटिएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षे छोरा रोजनको शव भेटिएको हो।
शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाइसँग बुझ्दा समेत फेला नपरेपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।
खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ।
शवलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८, ११:३०:००