नेपाली राजनीतिमा पछिल्लो समयले परिवारवाद हाबी भएको देखिन्छ। कुनै लाभको पदमा होस वा मनोनयनमा होस आफ्नालाई अगाडि सार्ने परिपाटी नेपाली राजनीतिमा देखिन थालेको छ। संबैधानिक नियुक्ति, राजदूत नियुक्तिदेखि लाभको पदमा आफ्नालाई प्राथामिकता दिँदा संघर्ष गरेर पार्टी वा संस्थामा टेवा पुर्याउनेहरु सधैं आफन्तवादको शिकार पर्ने गरेका छन्। अझ अर्को रोचक कुरा त पछिल्लो पटक पालो पालो मन्त्रीको होडबाजी चलेको छ। श्रीमान् पदमुक्त भए श्रीमती, श्रीमती पदमुक्त भए श्रीमानले मन्त्रीको जिम्मा पाउन थालेका छन्।
पछिल्लो समय कोटा पुर्याउन पनि मन्त्रीपद उपहार दिनेदेखि रिसाएको व्यक्ति फकाउन पनि मन्त्रीपद दिने चलन बढ्दै गएको छ। मन्त्री बन्न चाहिँ क्षमता, दक्षताको धज्जि उडाउदै मन लाग्दि मन्त्रीपद बाँढ्न राजनीतिक दल उद्दत देखिन्छन्।
पछिल्लो कम्युनिष्ट सरकारले आफ्नालाई लाभको पदमा पुर्याउन गरिएका यस्ता अभ्यासले पनि यो प्रमाणित गरिदिएको छ। आफ्नो सत्ता जोगाउनकै लागि राम्रा भन्दा पनि हाम्रालाई मन्त्री बाँढ्न थालिएको छ। सत्ता जोगाउनकै लागि एकै घरका श्रीमान श्रीमतीलाई पालै पालो मन्त्रीपद सुम्पिन थालिएको छ। अर्कातर्फ अप्ठ्यारोमा ज्यानको बाजि थाप्ने, आन्दोलनमा अग्रपंक्तिमा बस्ने कार्यकर्ताहरु भने सधैं पछि नै रहिरहेका छन्। यसरी आफ्नालाई पोस्नेमा ओली नेतृत्वको सरकार पनि अछुतो रहेन ।
जनताले पाँच वर्षको म्यान्डेट दिएको ओली नेतृत्वको सरकार गएको पुस ५ गतेबाट अस्थिर भयो । गएको चार वर्षमा १८ पटक मन्त्रिपरिषद् विस्तार गरेका ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा श्रीमान–श्रीमती आलोपालो मन्त्री बनेका छन्। आज हामी नेपाली राजनीतिमा श्रीमान श्रीमतीले नै मन्त्री बन्ने अवसर पाएका १० उदाहरण प्रस्तुत गर्दैछौं।
नेपालमा अहिलेसम्म श्रीमान–श्रीमती को को भए मन्त्री ?
१.रघुवीर महासेठ–जुलीकुमारी महतो
ओली क्याविनेटमा यसपटक पनि केहि रोचक दृष्य देखियो। ३१ गते मन्त्रिपरिषद् विस्तार गर्दा श्रीमती मन्त्रीपदबाट हट्दा श्रीमान् र श्रीमान मन्त्रीपदबाट बिदा भएपछि श्रीमती मन्त्री बनेर क्याबिनेट छिरेका छन्। वैशाख ३१ गते मन्त्रिपरिषद् विस्तारमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठ सिंहदरबार छिरे भने १७ औं पटकको मन्त्रिपरिषद् विस्तारसम्ममा उनकै श्रीमती जुलीकुमारी महतो महिला बालबालिका तथा समाज कल्याण मन्त्री थिइन्।
त्यसो त ओलीले दोस्रोपटक प्रधानमन्त्री हुँदा महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाएका थिए। महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा काम राम्रो नगरेको तथा क्षमता नभएको भन्दै उनी बर्खास्तमा परेका थिए। त्यसपछि उनको ठाउँमा वसन्त नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा ओलीले दिएका थिए।
महासेठ मन्त्रीबाट बाहिरएपछि उनले श्रीमतीलाई मन्त्री बनाए। एउटै घरका श्रीमान–श्रीमती बनाइएको भन्दै एमालेभित्र विरोध पनि भएको थियो। तर, वैशाख ३१ गते पुनः उनै बर्खास्तीमा परेका महासेठ मन्त्री बनेर उदाए । त्यो पनि उपप्रधानमन्त्री बनेर।
२.रामबहादुर थापा–नैनकला थापा
तीन वर्षसम्म गृहमन्त्री भएर सरकारमा रहेका रामबहादुर थापा आफू पदमुक्त भएसँगै महत्वपूर्ण मन्त्रालयमा थापाले श्रीमती नैनकला थापालाई उभ्याउन सफल भए। सांसद नभएकालाई मन्त्री बनाउन नपाउने भन्ने सर्वोच्चको फैसलापछि उनको मन्त्रीपद गएको थियोे । तर बादलले सरकारी क्वाटर नै नछाडि पुनः मन्त्री बन्ने योजनामा थिए उनी । अदालतको निर्णय नआईकन मन्त्री बन्न नपाउने अवस्था देखेपछि उनले आफ्नो गुटबाट पुनः श्रीमती नैनकलालाई सूचना तथा सञ्चार मन्त्री बनाएर सिंहदरबार छिराए । यसरी श्रीमान् श्रीमती पालैपालो मन्त्री बन्नेहरुको सूचीमा थापा दम्पत्ति पनि थपिन पुगे।
अझ अर्को रोचक कुरा त पछिल्लो पटक पालो पालो मन्त्रीको होडबाजी चलेको छ। श्रीमान् पदमुक्त भए श्रीमती, श्रीमती पदमुक्त भए श्रीमानले मन्त्रीको जिम्मा पाउन थालेका छन्।
३.शेरबहादुर तामाङ–उषाकला राई
एमाले नेता शेरबहादुर तामाङ पनि ओेली नेतृत्वको सरकारमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री बनेका थिए। यसपटक पनि तामाङ स्वास्थ्यमन्त्रीको जिम्मेवारीसहित सिंहदरबार छिरेका छन्। यसअघि मन्त्री हुँदा बंगलादेशमा पढ्न गएका विद्यार्थीका सन्दर्भमा विवादास्पद अभिव्यक्ति दिएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए। आँसु झार्दै उनले आफूले गलत नगरेको समेत बताएका थिए। उनले बोल्न नजान्दा पद गएको भन्दै आलोचनाहरु पनि भए तर, सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि प्रश्न उठ्दा नैतिकताको आधारमा राजीनामा दिएको भन्दै उनको प्रसंशा पनि भएको थियो।
त्यसो त पहिलोपटक पौष ५ मा प्रतिनिधिसभाको विघटनपछि तामाङका श्रीमान श्रीमती, माधव नेपाल झलनाथ खनाल समूहतिर लागेका थिए। उनीहरु संसद् विघटनको आन्दोलनमा पनि सहभागी भएका थिए । तर पछि दुबै जना पुनः ओली क्याम्पमा फर्किए। ओली क्याम्पमा तामाङ दम्पति फर्केपछि उनीहरुलाई फाइदै फाइदा भएको छ। उनले एमाले पार्टी कार्यालयको कार्यालय सचिवको जिम्मेवारी समेत पाए । श्रीमती उषाकलालाई प्रदेश नं १ को मन्त्री पनि बनाए। श्रीमती प्रदेश नं १ को मन्त्री हुँदाहुँदै तामाङ पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन्। एकै कार्यकालमा एउटै घरका श्रीमान श्रीमती नै मन्त्री बन्ने अवसर उनीहरुले पाएका छन्।
४. अनिल झा–डिम्पलकुमारी झा
संघीय सरकारको वैशाख ३१ गते मन्त्रिपरिषद् विस्तार गर्दा अनिल झा जनता समाजवादी पार्टीबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका छन्। दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि जसपा सरकारलाई सर्मथन जर्दै सरकारमा गएको छ । तर उनै झा कि श्रीमती डिम्पलकुमारी झासमेत प्रदेश नं २ को भौतिक पूर्वाधार राज्यमन्त्री थिइन् । तर जसपामा पनि विवाद बढेकाले महन्थ ठाकुर पक्षबाट मन्त्री भएका मन्त्रीलाई बर्खास्त गरिएको छ । बर्खास्तीमा झा पनि परेकी छिन् ।
५.शक्ति बस्नेत–सत्य पहाडी
नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र उनकी पत्नी सत्य पहाडी पनि मन्त्री भइसकेका छन्। शक्ति बस्नेत तीनपटक मन्त्री भइसकेका छन्। बस्नेत वर्तमान ओली सरकारमा गत पौष ५ गते संसद् विघटन नहुँदासम्म वन तथा वातावरण मन्त्री रहेका थिए। त्यसअघि पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि बस्नेत मन्त्री बनेका थिए। त्यसभन्दा अघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्री रहेका थिए। उनी केपी ओलीको दोश्रो सरकारमा वनमन्त्री थिए। उनकी पत्नी सत्या पहाडी २०७२ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेकी थिइन्।
६.बाबुराम भट्टराई–हिसिला यमी
संविधान सभाको पहिलो निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा बाबुराम भट्टराई अर्थमन्त्री बनेका थिए। त्यसपछि भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री पनि बने । बाबुरामका श्रीमान् श्रीमती दुबै जनाले प्रत्यक्ष चुनाव जितेका थिए। उनकी श्रीमती हिसिला यमी संसद हुँदै मन्त्री बनेकी थिइन्। उनी नेपालमा दोस्रो जनआन्दोलनपछि बनेको २०६३ वैशाख १२ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री बनेकी थिइन्।
अप्ठ्यारोमा ज्यानको बाजि थाप्ने, आन्दोलनमा अग्रपंक्तिमा बस्ने कार्यकर्ताहरु भने सधैं पछि नै रहिरहेका छन्। यसरी आफ्नालाई पोस्नेमा ओली नेतृत्वको सरकार पनि अछुतो रहेन ।
७.अमृतकुमार बोहरा–अष्टलक्ष्मी शाक्य
श्रीमान् श्रीमती मन्त्री हुनेमा अमृतकुमार बोहरा–अष्टलक्ष्मी शाक्य पनि पर्दछन्। उनीहरु फरकफरक समयमा मन्त्री बनेका थिए। शाक्य दुई पटक मन्त्री बनेकी थिइन्। दुबै जना नेकपा एमालेको नेतृत्व तहमा पुगिसकेका नेता हुन्। अष्टलक्ष्मी शाक्य ०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बनिन् । उनले त्यतिवेला महिला, बालबालिका मन्त्रालयको जिम्मा पाएकी थिइन् । त्यस्तै उनी ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पनि उद्योगमन्त्री बनेकी थिइन्। यस्तै श्रीमान अमृतकुमार बोहोरा पनि स्व. गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा २०५५ साल पुष १० गते गठिन मन्त्रीमण्डलमा स्थानिय विकास मन्त्री बनेका थिए।
८.सिपि मैनाली–निलम केसी
सिपि मैनालीका पनि श्रीमान् श्रीमती दुबैजना नेपाल सरकारको मन्त्रीपदमा पुगिसकेका छन्। मैनाली नेपालको पहिलो कम्युनिस्ट सरकार बन्दा मन्त्री बनेका थिए। उनी २०५१ सालमा पहिलो कम्युनिस्ट सरकारको नेतृत्व गर्ने मनमोहन अधिकारीको ९ महिने सरकारमा स्थानीय विकास तथा आपूर्ति मन्त्री बनेका थिए। त्यसपछि पार्टी विवादपछि पार्टी फटाएर नेकपा माले बनाएर अहिले पनि अध्यक्ष रहेका छन्। उनकी श्रीमती निलम केसी पनि ०७० को सुशील कोइराला नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बनेकी थिइन्। यसरी दुबै श्रीमान् श्रीमती नै मन्त्री बन्ने अवसर पाउनेमा उनीहरु पनि पर्दछन्।
९.वर्षमान पुन–ओनसरी घर्ती
नेकपा माओवादी शान्ति प्रक्रिया आए पश्चात् २०६४ सालको संविधान सभाको निर्वाचनपछि बनेका सरकारमा प्रायः वर्षमान पुन मन्त्री भएका छन्। पुन पछिल्लो पटकसम्म गरेर तीनपटक मन्त्री बनेका छन्। पुन शान्ति तथा पुनर्निर्माण, अर्थ र उर्जा मन्त्री बनेका छन्। उनकी पत्नी ओेनसरी घर्ती सभामुखसमेत भएकी छन्। उनी देशकै पहिलो महिला सभामुख पनि हुन् । घर्ती ०६८ मा खनालको सरकार पुनर्गठन हुँदा युवा तथा खेलकुदमन्त्री पनि बनेकी थिइन्।
१०.गणेशमान पुन–कमला रोका
गणेशमान पुनले पनि श्रीमान् श्रीमती दुबै जना मन्त्री बन्ने अवसर पाएका छन्। पुन केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आपूर्तिमन्त्री बनेका थिए। त्यस्तै उनकी पत्नी कमला रोका बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा युवा तथा खेलकुदमन्त्री बनेकी थिइन्। यसरी नेपालमा विभिन्न व्यक्तिको नेतृत्वमा भएको सरकारमा श्रीमान् श्रीमती नै मन्त्री बनेका इतिहास पाउन सकिन्छ।
प्रकाशित: १ असार २०७८ १४:४९ मंगलबार