आज २०७८ जेठ ३० गते आइतबारका प्रमुख खबरहरू हामीले प्रस्तुत गरेका छौं।
काठमाडौं उपत्यकाभित्र थपियो एक साता निषेधाज्ञा, के-के खुल्छ?
काठमाडौं उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा असार १ गतेदेखि असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यसपटकको निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ। यद्यपी औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइनेछ। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। थप समाचार…
***
मर्निङ र इभिनिङ वाक नरोक्ने
काठमाडौं उपत्यकामा अब मर्निङ वाक र इभिनिङ वाक गर्न पाइने भएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले शारीरिक तन्तुरुस्तीका लागि स्वास्थ्य सुरक्षा अपनाएर बिहान र बेलुका हिँड्न पाइने बताए। कोरोना संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लाले बैशाख १६ गते यता लगातार निषेधाज्ञा गरिरहेका छन्। थप समाचार
***
आयोगका उपाध्यक्षलाई बालुवाटार डाकेर बिएन्डसीलाई सम्बन्धन दिन वा राजीनामा गर्न प्रधानमन्त्रीको दबाब प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालन निम्ति सम्बन्धन दिन वा राजीनामा गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई दबाब दिएका छन्।
आयोगको अध्यक्षसमेत रहेका ओलीले आइतबार उपाध्यक्ष गिरीलाई बालुवाटार डाकेर बिएन्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न वा राजीनामा गर्न दबाब दिएको स्रोतले बतायो।
बालुवाटार बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेत सहभागी थिए। स्रोतका अनुसार उनीहरूले उपाध्यक्ष गिरीलाई ‘कि त हस्ताक्षर गर्नुस् नभए राजीनामा दिनुस्’ भनेर धम्की दिएका थिए। थप समाचार
***
आइतबार नेपालमा कोरोनाका २ हजार ४ सय ७ नयाँ संक्रमित थपिए, ४६ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त। थप समाचार
***
जसपामा एकले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिने
निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने भएको छ।
आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले उक्त निर्णय गरेको हो। थप समाचार
***
काठमाडौं महानगरले ६० देखि ६१ वर्ष उमेर समूहलाई सोमबार र मंगलबार खोप लगाउने
काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ। भेरोसेल खोपको पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको छ। यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा अब सुरू गर्न लागिएको हो। थप समाचार
***
नागरिक प्रतिरोधको बलमा जोगिने भयो ऐतिहासिक सम्पदा ‘खुवालुङ’
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कुनैबेला जसरी पनि सप्तकोशीमा रहेको खुवालुङ (पानीढुंगो) फुटाउने योजनामा लागेको प्रदेश १ सरकार अन्ततः त्यसको संरक्षणमा जुट्न नीतिगत रूपमै तयार भएको छ।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेश सरकारले खुवालुङ संरक्षण गरेर जल यातायात सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ। आइतबार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममा उठेका सवालमा जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले खुवालुङबाहेकका ढु्ंगा फु्टाउने तर खुवालुङ संरक्षण गरिने बताए। थप समाचार
***
एक वर्षमा दोब्बर भयो खाने तेलको मूल्य, के हो कारण?
कोरोना महामारी सुरू भएपछि उपभोक्ता बजार मूल्य आकासिएको छ। सरकारी निकायले गरेको अनुगमनमा पनि अत्यावश्यक वस्तुको बजार भाउ बढेको पाइएको हो। यसमध्ये सबभन्दा चर्चा अहिले खाने तेलको मूल्य वृद्धिको भइरहेको छ। थप समाचार
***
लुम्बिनी प्रदेश सरकारले ल्यायो सञ्चारमाध्यमको दर्ता खारेज गर्नेसम्म व्यवस्था भएको विधेयक
लुम्बिनी प्रदेश सभामा पेश भएको सञ्चार विधेयकले सञ्चारक्षेत्रलाई अंकुश लगाउने गरी ल्याइएको भन्दै त्यसलाई परिवर्तन गर्न पत्रकारहरूले माग गरेका छन्। पत्रकार महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको भर्चुअल बैठकमा बोल्ने पत्रकारहरूले संविधानको भावनाविपरीत आएको विधेयकमार्फत् पत्रकारलाई अंकुश लगाउन खोजिएकोले संसदबाट पास नगर्न सरकारलाई आग्रह गरेका हुन्। थप समाचार
***
हट्यो एकमुष्ट सेयर खरिद आदेशको व्यवस्था, तोडियो ‘मार्केट डेप्थ’को जालझेल
एकमुष्ट रुपमा सेयर खरिद आदेशको व्यवस्था (अल अर नन) हटाइएको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएसँगै आजैदेखि कार्यान्वयन हुनेगरी यो व्यवस्था हटाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
‘खरिदतर्फ आदेशमा अल अर नन (एओएन) हटेको हो, बिक्रीतर्फको व्यवस्थामा हटेको छैन’ पराजुलीले सेतोपाटीसँग भने। यसको अर्थ अब सेयर खरिद गर्न चाहनेले राख्ने आदेशमा सेयरको संख्या थोरै थोरै मात्रामा खरिद हुन सक्नेछ। थप समाचार
***
२२ वर्षपछि न्युजिल्यान्डले जित्यो इंग्ल्यान्डमा सिरिज
न्युजिल्यान्डले २२ वर्षपछि इंग्ल्यान्डमा टेस्ट सिरिज जितेको छ। आइतबार सम्पन्न दोस्रो टेस्टमा घरेलु टिम इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले २ खेलको सिरिज १-० ले जित्यो। यसअघि पहिलो सिरिज बराबरीमा सकिएको थियो। न्युजिल्यान्डले पछिल्लो पटक सन् १९९९ मा इंग्ल्यान्डमा सिरिज जितेको थियो। थप समाचार
***
युरो कपः स्टर्लिङको गोलमा इंग्ल्यान्डले क्रोएसियालाई हरायो
रहिम स्टर्लिङले गरेको गोल निर्णायक बन्दा इंग्ल्यान्डले युरो २०२० मा विजयी सुरूवात गरेको छ। आइतबार साँझ लन्डनमा भएको समूह ‘डी’ को खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १-० गोलले पराजित गर्यो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा इंग्ल्यान्डका फिल फोडेनको प्रहार पोस्टमा लागेको थियो। खेलको ५७ मिनेटमा घरेलु टिम इंग्ल्यान्डले अग्रता लियो। इंग्ल्यान्डका लागि स्टर्लिङले उत्कृष्ट फिनिसिङ गरे। फिलिप्सले उपलब्ध गराएको पासमा स्टर्लिङले बललाई जाली चुमाए। थप समाचार
***
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित
प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ। नीति कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। सरकारले असार १ मा बजेट प्रदेशसभामा पेश गर्नेछ।
सत्तारूढ एमालेका दुवै समूहको बलमा आर्थिक वर्ष २०७८–७९ को नीति कार्यक्रम बहुमतले पारित भएको हो।
एमालेको झलनाथ-माधव समूहले अन्य प्रदेशमा पनि नीति कार्यक्रम पारित गर्न सघाएको छ। थप समाचार
***
लुम्बिनीमा नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको कार्यसूची अनुसार आइतबार बसेको प्रदेससभा बैठकमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो। थप समाचार
***
गण्डकी प्रदेश सरकारको प्रवक्तामा कुमार खड्कालाई तोकियो, कार्यविधि बनाएर पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सरकारी सेवा सुविधा उपलब्ध गराइने । थप समाचार..
***
जुम्लामा एमबिबिएस पढाइ हुने, २५ सिट दिने आयोगको निर्णय
अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो। बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ।
यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबिबिएस कार्यक्रम सुरूआत गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो। थप समाचार
***
आफूहरुलाई कोरोना विरुद्धको खोप लगाइनुपर्ने पेट्रोलियम ट्यांकर चालकको सरकारसँग माग,खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चेतावनी। थप समाचार
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८, २२:३५:००