कोभिड–१९ को दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै नियन्त्रणका लागि सरकारले उपत्यकालगायत सबै जिल्लामा निषेधाज्ञा लागू गरेको दुई साताभन्दा बढी भएको छ । निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै कार्यालय बन्द भएका छन । यसरी सबै क्षेत्र बन्द भएकाले मानिस घरमा बस्दा अन्य समयभन्दा इन्टरनेट धेरै खपत हुन थालेको छ ।
निषेधाज्ञा नहुँदा दिउँसो मानिस विभिन्न काममा व्यस्त हुने भएकाले इन्टरनेट खपत कम हुन्थ्यो । तर, निषेधाज्ञापछि दिउँसो इन्टरनेट धेरै खपत हुन थालेको इन्टरनेट सेवाप्रदायक कम्पनीले बताएका छन । पछिल्लोपटक निषेधाज्ञा जारी भएको दुई हप्तामा इन्टरनेट प्रयोगकर्ता २५ देखि ३० प्रतिशतले वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) तथा सुबिसु केबलनेटका अध्यक्षसमेत रहेका सुधीर पराजुलीले केन्द्रबिन्दुलाई बताए ।
उनका अनुसार निषेधाज्ञामा सबै मानिस दिउँसो घरमै बसेर नेट चलाउने भएकाले खपत बढेको भए पनि बेलुका चाहिँ कम रहेको छ । उनले भने, ‘निषेधाज्ञापछि ३० प्रतिशतले इन्टरनेट खपत बढेको छ । तर, धेरै इन्टरनेट खपत हुने समयमा कम्पनी तयारी अवस्थामा रहने गरेका छन ।’
यता नेपाल दूरसञ्चार प्राधिकरणले भने निषेधाज्ञा अवधिमा खपतसँगै इन्टरनेट सेवाका ग्राहकसमेत करिब १२ प्रतिशतले बढेको जनाएको छ । दूरसञ्चार प्राधिकरणले १२ प्रतिशतले ग्राहक बढेको जनाए पनि वास्तविक ग्राहक वृद्धिदर १० प्रतिशतमात्र रहेको अध्यक्ष पराजुलीको भनाइ छ ।
निषेधाज्ञाको अवधिमा नयाँ ग्राहक थप्नेभन्दा पनि कम्पनी पुरानै ग्राहकलाई गुणस्तरीय सेवा दिन लागिपरेका पराजुली बताउँछन । ‘अहिले निषेधाज्ञामा स्पिड कम भएको छ । एउटा राउटर जोडेर पूरै घरका कोठा तथा अर्काे घरमा समेत इन्टरनेट दिने प्रचलन रहेकाले स्पिड कम भएको हो । तर, गुणस्तरमा कमी आएको छैन,’ उनी भन्छन ।
नेपालमा पछिल्लो समय इन्टरनेट सेवाप्रदायकबीच प्रतिस्पर्धा चलिरहेको छ । प्रतिस्पर्धाबीच एक वर्षमा नेपालमा झन्डै ३८ प्रतिशत इन्टरनेट सेवाका ग्राहक थपिएका नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार २०७६ साल चैतमा देशभरि इन्टरनेट सेवाका ग्राहक ८ लाख ९६ हजार ७२१ रहेका थिए । तर २०७७ साल चैत मसान्तसम्ममा ४ लाखभन्दा बढी ग्राहक थपिएर १२ लाख ३४ हजार २४९ पुगेको छ ।
यो संख्या मोबाइलको इन्टरनेटबाहेक ब्रोडब्यान्ड इन्टरनेट सेवाका ग्राहक संख्या हो । त्यस्तै,अहिलेसम्मका कूल इन्टरनेट ग्राहकमध्ये फाइबर ब्रोडब्यान्डका ग्राहक ९ लाख ८१ हजार ४ सय ८१, केबल इन्टरनेटका २ लाख २६ हजार १९ र वायरलेस इन्टरनेट सेवाका ग्राहक ४६ हजार ७४९ पुगेको प्राधिकरणले जनाएको छ ।
नेपालमा अहिले पनि वास्तविक ब्रोडब्यान्ड सेवा विस्तार नभएको आइस्पानका अध्यक्ष पराजुली बताउँछन । अहिलेसम्म इन्टरनेट सेवा दिइरहेका इन्टरनेट सेवा प्रदायकमध्ये वल्र्डलिंक कम्युनिकेसन सबैभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार वर्ल्डलिंकका चार लाख ग्राहक रहेका छन । वल्र्डलिंकले कूल इन्टरनेट बजारको ३३ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यस्तै, २ लाख ४६ हजार ग्राहकसहित नेपाल टेलिकमले पनि दोस्रो स्थानमा रहेर गुणस्तरीय इन्टरनेट सेवा दिइरहेको छ । नेपाल टेलिकमले २१ प्रतिशत हिस्सा ओगटेको छ । यसैगरी, कूल बजारको १२ प्रतिशत हिस्सा ओगटेको सुबिसु केबल नेट तेस्रो स्थानमा रहेको छ । १० प्रतिशत हिस्सा ओगटेको भायनेट पाँचौं स्थानमा रहेको छ । त्यस्तै अहिले बजारमा क्लासिटेक, टेकमाइन्डस, ब्रोडलिंक, वेबसर्फर, कनेक्ट नेपाललगायत अन्य इन्टरनेट सेवाप्रदायक रहेका छन ।