देशमा सिर्जित संवेदनशील परिस्थितिलाई दृष्टिगत गर्दै सामाजिक सद्भाव, शान्ति र संयमता कायम राख्न सर्वपक्षीय अपिल गरिएको छ। आवेग र अफवाहमा नबगी बुद्धि, विवेक र कानुनको सीमाभित्र रहेर संयमित हुन देशवासीलाई आग्रह गरिएको छ।
सार्वजनिक अपिलमा सनातन धर्मले अन्यायको प्रतिकार गर्न सिकाए पनि घृणा र हिंसालाई कहिल्यै प्रश्रय नदिने उल्लेख गर्दै धर्म र सत्यको रक्षा धर्माचरण र संयमबाट मात्र सम्भव हुने स्पष्ट पारिएको छ। बुद्धको भूमि नेपालको मुख्य पहिचान नै विविधताबीचको एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव रहेको स्मरण गराउँदै क्षणिक आवेग वा उत्तेजनाका कारण वर्षौँदेखिको सद्भाव नभत्काउन अनुरोध गरिएको छ।

मुख्य माग तथा अपिलहरू:
-
पारदर्शी र द्रुत छानबिन: घटनाको गहिराइसम्म पुगी सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याएर कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ।
-
सुरक्षा निकायलाई संयमता अपनाउन आग्रह: संवेदनशील परिस्थितिमा बल प्रयोगलाई पहिलो विकल्प नबनाई संवाद, धैर्यता र मानवीय संवेदनशीलताका आधारमा परिस्थिति व्यवस्थापन गर्न सुरक्षा निकायहरूलाई अपिल गरिएको छ।
-
समुदाय र दलहरूलाई एकताबद्ध हुन आह्वान: आरोप-प्रत्यारोप र साम्प्रदायिक विभाजन छोडेर राजनीतिक दल, धार्मिक अगुवा, बुद्धिजीवी, युवा तथा नागरिक समाजलाई शान्ति स्थापनाका लागि हातेमालो गर्न भनिएको छ।
-
जिम्मेवार मिडिया र सामाजिक सञ्जाल: मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई भ्रामक, सनसनीपूर्ण र भावना भड्काउने सामग्री प्रसारण/प्रकाशन नगर्न र तथ्यमा आधारित समाचार मात्र प्रवाह गर्न आग्रह गरिएको छ।
वक्तव्यको अन्त्यमा, वर्तमान परिस्थितिमा क्रोधको सट्टा करुणा, द्वेषको सट्टा संवाद, प्रतिशोधको सट्टा न्याय र विभाजनको सट्टा राष्ट्रिय एकताको आवश्यकता रहेकोमा जोड दिइएको छ।