काठमाडौँ–फिलिपिन्सले आफ्ना ४ वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान गर्ने सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ ।
अमेरिका र फिलिपिन्सबीच बिहीबार भएको सम्झौताले उत्तरमा दक्षिण कोरिया र जापानदेखि दक्षिणमा अस्ट्रेलियासम्म फैलिएको अमेरिकी गठबन्धनको प्रभावलाई सुनिश्चित गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई भेटेपछि सार्वजनिक भएको फिलिपिन्स–अमेरिकाबीचको उक्त सम्झौता धेरै पहिलेदेखि कार्यान्वयनमा रहेको इन्हान्स्ड डिफेन्स कोअपरेसन एग्रिमेन्ट इडिसिए अझ सुदृढ भएको छ भने फिलिपिन्समा मानवीय र जलवायुसम्बन्धी प्रकोप सम्बोधनमा अमेरिकी सहयोग प्राप्त हुनेछ ।
यसका साथै मनिला र वासिङ्टनबीचको राणनीतिक साझेदारी थप विस्तार भएको छ । ‘फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले रणनीति महत्वका ४ नयाँ स्थानमा सैनिक पहुँच प्रदान गर्ने सम्झौताका साथ इडिसिएको पूर्ण कार्यान्वयनलाई गति प्रदान गर्ने घोषणा गर्न पाउँदा गर्वानुभूति भएको छ,’ सम्झौतापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ ।
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेले चीनसँगको आफ्नो देशको सम्बन्धमा कटुता उत्पन्न हुन नदिन आफ्नो जलक्षेत्रमा अमेरिकी सेनालाई थप स्थान दिन अस्वीकार गरेका थिए । चीनसँगको द्वन्द्व अमेरिकामात्र नभई कुनै पनि मुलुकका निम्ति लाभदायक नहुने उनको मान्यता थियो ।