काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले मन्त्री बनेर धर्मको राजनीति नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले मन्त्री बनेकाहरुले धर्मलाई राजनीतिकरण गर्नु दुःखद भएको बताएका छन् । उनले राप्रपाका सांसदहरुलाई इंगित गर्दै भने, “धर्मलाई आफ्नो जीवनशैलीमा ढालौँ । राजनीतिक एजेन्डा बनायो भने न पाकिस्तान, बंगलादेश र भारत शान्त छ, मन्त्री भएर राय बनाउन थाल्दा कुन बाटोमा जान्छ भन्ने हो । राप्रपाको आफ्नो विचार होला, सांसदले बोल्लान्, तर मन्त्री भएर बर्खिलापमा बोल्न मिल्दैन ।”
उनले राप्रपाका सांसदहरूले आफ्नो विचार राख्न सक्ने तर मन्त्रीले धार्मिक राजनीति गर्न नमिल्ने जीकिर गरे । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष विक्रम पाण्डेलाई इंगित गर्दै धर्मको राजनीति नगर्न संसदमा बोलेका छन् । “धर्म परिवर्तन व्यापक बनाइएको छ, लगानी बढाइएको छ”, उनलेभ ने, “यसलाई रोक्न क्याबिनेटमा कानुन ल्याउने हो । गरिब चेपाङ, थामीहरूलाई पैसाको प्रलोभन पारेर धर्म परिवर्तन भइरहेको छ । उपप्रधानमन्त्री हुनुहुन्छ, कानुन ल्याउनुहोस् । तर, धार्मिक राजनीति नगर्नुहोस् ।”
सहरी विकासमन्त्री एवं राप्रपाका सांसद विक्रम पाण्डेले ‘संघीयता, धर्मनिरपेक्षता र अहिलेको कानुन नमान्ने’ भनी दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । “राष्ट्रियसभामा प्रधानमन्त्री बोल्ने अनि त्यसको भोलिपल्ट संविधानको आधारभूत मान्यताविरुद्ध मन्त्री नै जाने ? यो संविधान र कानुनको अधिनमा रहेर मन्त्रीहरूले गतिविधि अघि बढाउनुपर्दछ”, उनले भने, “संविधानअनुसार शपथग्रहण गर्नुभएका र शपथ लिनुभएको हो, मन्त्रीहरूले । प्रधानमन्त्रीसँग फरक मत राख्न मिल्दैन ।”