भरतपुर । २०७७ असार २९ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एउटा अभिव्यक्ति निकै चर्चामा रह्यो । भानु जयन्तीका दिन ओलीले भनेका थिए– हामीले अहिले पनि ठानिरहेका छौँ, ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्या रामलाई दिएका हौं। अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो । यही अभिव्यक्तिपछि एकाएक माडीको अयोध्यापुरी चर्चामा आयो ।
सोही वर्ष साउन २७ मा माडी नगरपालिकाका जनप्रतिनिधिलाई काठ्माण्डौ बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन सुझाए । २०७८ बैशाख ७ गते ओलीले पूजाआजा गरेर बालुवाटारमा बनाइएका राम, सीता, लक्ष्मण, हनुमानको मूर्ति माडी रथयात्रा सहित रामनवमीका दिन ८ गते माडी लगियो । मूर्ति राख्न करिब १९ लाख खर्चेर मन्दिर पनि निर्माण गरिएको थियो । प्रस्तावित माडी अयोध्यामभित्र राम मन्दिर निर्माणमा १९ लाख ३७ हजार, राम मन्दिर सत्तल निर्माणमा ४ लाख ३७ हजार, पुजा घर निर्माणमा ७ लाख ८७ हजार, सडक निर्माणमा ३ लाख १२ हजार, शैचालय निर्माणमा २ लाख ७६ हजार खर्च भएको थियो ।
२०७८ वैशाखमै अयोध्याधाम पुगेर अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– अनुसन्धानबाट अयोध्याधाम यही हो भन्ने प्रमाणित भएमा निकै ठूलो उपलब्धि हासिल हुनेछ, पुरातत्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्छ, धाम निर्माण भएमा यहीँको जनप्रतिनिधि म पनि निकै खुशी हुनेछु, प्रधानमन्त्री भए भने अयोध्याधाम निर्माणमा सहयोग गर्नेछु ।” तत्कालिन नेकपाभित्र किचलो हुदा एमाले अध्यक्ष ओलीले प्रचण्डको निर्वाचन क्षेत्रमै अयोध्याधाम बनाउछु भनेर राजनीति अस्त्र फाले भनेर पनि टिप्पणी भए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राम मन्दिरको नाममा ओलीले आँफु विरुद्ध राजनीति गरेको अभिव्यक्ति पनि दिए ।
तर, अहिले राजनीति वदलिएको छ । ओली, प्रचण्ड अहिले एकै ठाउँमा छन् । मिलेर सरकार बनाएका छन् । प्रचण्ड २०७४ को चुनावमा जितेको निर्वाचन क्षेत्र चितवन–३ छाडेर गोर्खा–२ बाट मंसिर ४ को निर्वाचन जिते । अहिले ७ दलीय नयाँ गठबन्धन बनेको छ । अयोध्याधाम बनाउनुपर्छ भन्ने र अयोध्याधाम हो–होइन प्रमाणित गरेर अगाडी बढ्नुपर्छ भन्ने दुवै अहिले सरकारको चावी लिएर बसेका छन् ।
माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतो अहिलेको सरकारले माडीमा अयोध्याधाम बनाउन बजेट विनियोजन गर्ने आशा राख्नुहुन्छ । “अयोध्याधामको अवधारणा ल्याउने ओली ज्यू, यही क्षेत्रको पहिलेको जनप्रतिनिधि प्रचण्ड ज्यू दुबै मिलेर बनेको नयाँ सरकार छ”, उनले भनिन्, “सरकार पोजेटिभ हुन्छ भन्ने लागेको छ, नगरपालिकाको एकल प्रयासले सकिएन, अब बन्छ कि ।” नगरपालिकाले ८–१० लाख बजेट छुट्टाएर अयोध्याधामको लक्ष्य पुरा गर्न धेरै वर्ष लाग्ने उनको तर्क छ । माडीका उपमेयर खेमप्रसाद महतो नगरपालिका एक्लैले अयोध्याधाम बनाउनै नसक्ने सुनाउँछन् । “केन्द्र र प्रदेश सरकारको सहयोग भएमा अयोध्याधाम निर्माण सफल हुन्छ”, उनी भन्छन्, “आशा छ, यसपाली केही नतिजा आउला ।”
माडीका पूर्व मेयर तथा बागमती प्रदेशका सांसद ठाकुरप्रसाद ढकाल नगरपालिकाले अगाडी बढाएका प्रक्रियाहरुले गती लिने विश्वास राख्छन् । “वडा नम्बर ९ को १ सय विघा क्षेत्र भोगाधिकार गर्ने गरी अयोध्याधामका लागि सरकार समक्ष जग्गा सिफारिस ग¥यौँ, केही पौराणिक महत्वका तथ्य–सामाग्रीहरु संकलन गरी अध्ययनका लागि पुरातत्व विभागमा पठायौँ”, विगत सुनाउँदै उनले भने, “धार्मिक ग्रन्थमा भेटिएका तथ्य विश्लेषण गरी निष्कर्ष निकाल्न पनि भन्यौँ, खोज अनुसन्धान समिति पनि गठन गरेर काम गरियो, तर अपेक्षाकृत नतिजा आएन, अब होला भन्ने आशा छ ।” वाल्मीकि–गोद्धक–सोमेश्वरगढी–शनी मन्दिर हुदै पर्साको ठोरीसम्म समेटेर धार्मिक सर्किट बनाउने गरी काम गर्न सकिए धार्मिक पर्यटनले गती लिने बताउँछन् । “माडीमा समृद्धिका लहर आउन सक्छन्, धार्मिक र कृर्षि पर्यटनका लागि यो सरकारले केही गर्नुपर्छ”, माओवादी केन्द्रका नेता समेत रहेका ढकाल भन्छन्, “अयोध्याधामका लागि ठोस पहल गर्ने अहिले सुनौलो अवसर छ ।”
एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद जगन्नाथ थपलिया नेपालको शिर उचो बनाउन अयोध्याधामले थप सघाउने टिप्पणी गर्छन् । “प्रचण्ड ज्यूको पूर्व निर्वाचन क्षेत्र, ओली ज्यू को अभियान हो”, उनी भन्छन्, “अयोध्याधामका लागि प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल पनि सकारात्मक हुनुहुन्थ्यो, अहिले केन्द्र र प्रदेश दुबैबाट यथेष्ट बजेट र पहल हुनेमा कुनै शंकै छैन ।” बागमती प्रदेश सरकारले अयोध्याधाम क्षेत्र विकास समिति बनाउनका लागि कार्यविधि बनाउने चरणमै सरकार परिवर्तन भएपछि काम रोकिन पुगेको थियो । एकिकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य नारदमणी पौडेलले अयोध्याधामको नाममा हुने राजनीति रोकिनुपर्ने तर्क गर्छन् । “त्यो बेला चरम राजनीति भयो, जसले गर्दा कामै हुन पाएन”, उनले भने, “यसपाली आशा गरौँ, बजेट व्यवस्थापन भएर काम द्रुत गतीमा अगाडी बढोस् ।”
नेपाली कांग्रेस माडी सभापति कोमलनाथ भुषाल अयोध्याधामको पक्ष–विपक्षमा उभिएकाहरु एकै ठाउँमा पुगेकाले यसपाली बन्छ कि भन्ने लागेको बताउँछन् । “विगतमा पनि सहयोग गरेकै थियौँ, पवित्र धार्मिक तीर्थस्थल बन्छ भने विरोध हाम्रो हुदैन”, उनी भन्छन्, “अयोध्याधाम निर्माण, निकुञ्ज समस्या समाधान लगायतका कामहरु हुनुपर्छ ।” एमाले माडीका सचिव श्रीप्रसाद दवाडी अयोध्याधाम विकास समिति छिटै घोषणा गरेर काम थाल्नुपर्ने बताउँछन् । “सरकारले औपचारिक रुपमा समिति बनाएर कामलाई गती दिनुपर्छ”, उनले भने, “बजेट अभावमा अयोध्याधाम अलपत्र नबनोस् ।” राष्ट्रिय स्वतन्त्र पार्टी माडीका सभापति नारायण रिजाल अयोध्याधाम निर्माणले माडीलाई विश्वले चिन्ने अवसर पाउने बताउँछन् । “बन्छ, बनाउछौँ भन्ने धेरै सुनियो, अब बनोस्”, उनले भने, “राजनीति गर्ने माध्यममात्रै नबनोस्, माडी विकास हुनुपर्छ ।”
यही मंसिर १२ गते त्रेतायुगमा राम–सीताको विवाह भएको सम्झनामा धार्मिक कार्यक्रम भएको थियो । वर्षेनी १–२ वटा कार्यक्रम बाहेक अन्य बेला अयोध्याधाम क्षेत्र सुनसान हुने गर्छ । साढे २ वर्षसम्म पनि पूर्वाधार निर्माणको गती निकै सुस्त छ । अयोध्याधामको हालसम्म डिपिआरनै बनेको छैन । नीजि क्षेत्रले धामको डिजाइन बनाएर तत्कालिन प्रधानमन्त्रीलाई बुझाएको थियो । डेकोर स्टुडियो प्रालि काठ्माण्डौका निर्देशक मनोज गुप्ताले झण्डै ४ अर्ब लागत लाग्ने खाका सहितका पूर्वाधारहरु बनाउन सकिने गरी धामको डिजाइन तत्कालिन प्रधानमन्त्री ओलीलाई बुझाएको बताउँछन् ।
“२०७७ चैतमै हामीले डिजाइन प्रस्तुत गरेका थियौँ, ओली ज्यूले रुचाउनुभएको थियो, सोही अनुसार पूर्वाधार बन्नेछन् पनि भन्नुभयो”, उनले भने, “अयोध्याधाम निर्माण होस् भन्ने हाम्रो पनि चाहना छ, माडीलाई चिनाउने र स्थापित गर्ने बलियो आधार बन्नेछ ।” श्रीरामको भव्य मन्दिर, दशरथको दरबार, धर्मशाला, घोडसार, उद्यान, जटायु पार्क, लक्ष्मण वाटिका, अशोक वाटिका लगायतका संरचनाहरु बनाउने गरी डिजाइन प्रस्तुत गरिएको बताए ।