भारतलाई हराउँदै न्यूजिल्याण्डले विश्व टेष्ट च्याम्पियनशिपको उपाधि जितेको छ।
बुधबार साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि उचालेको हो।
भारतले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको न्यूजिल्याण्डले अन्तिम ७.१ ओभर बाँकी हुँदै मात्र २ विकेट गुमाएर खेल जित्यो ।
उसका लागि कप्तान केन विलियम्सनले ५२, रस टेलरले अविजित ४७, डेभन कन्वेले १९ र टम लाथमले ९ रन बनाएका थिए।
लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ओपनर टम लाथम र डेभोन कनवेले ३० रनको साझेदारी गरेका थिए। रभीचन्द्रन आश्विनले ९ रन बनाएका लाथमलाई स्टम्पिंग तथा १९ रन बनाएका कनवेलाई एलबिडब्लु गर्दै भारतलाई खेलमा फर्काएका थिए।
तेश्रो विकेटको लागि कप्तान केन विलीयमसन र रस टेलरले अविजित ९६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म डोर्याए। विलियमसन ८९ बलमा ८ चौका मद्दतले ५२ रन तथा टेलर १०० बलमा ६ चौका मद्दतले ४७ रनमा अविजित रहे।
भारतको बलिङमा रभीचन्द्रन आश्विनले २ विकेट हात पारे जुन क्रममा १० ओभरमा ५ मेडन ओभर गर्दै १७ रन खर्चिए।
यसअघि न्यूजिल्याण्ड पहिलो पारीमा २४९ रनमा अलआउट भएको थियो । उसका लागि पहिलो पारीमा डेभन कन्वेले ७७, कप्तान केन विलियम्सनले ४९, टम लाथमले ३०, टिम साउथीले ३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाएका थिए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेका थिएनन्।
बलिङमा भारतका लागि मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिएका थिए।
यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा २ सय १७ रनमै समेटिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले दोस्रो दिनको खेलमा ९२.१ ओभरमा अलआउट हुँदै मात्र २ सय १७ रनमा अलआउट भएको थियो।
उसका लागि अजिंक्य रहाणेले सर्वाधिक ४९, कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४, रविचन्द्रन आश्विनले २२, रवीन्द्र जडेजाले १५, चेतेश्वर पुजाराले आठ र ऋषभ पन्त र इशान्त शर्माले समान चार/चार रन बनाएका थिए।
न्यूजिल्याणडको बलिङमा काइल जेमिसनले पाँच, नील वाग्नर, ट्रेन्ट बोल्टले दुई/दुई र टिम साउथीले एक विकेट लिएका थिए।
दोस्रो पारीमा भारतले १७० रन बनाएर अलआउट भएको थियो। उसका लागि दोस्रो पारीमा ऋषभ पन्तले ४१, रोहित शर्माले ३०, रवीन्द्र जडेजाले १६, चेतेश्वर पुजारा, अजिंक्य रहाणेले समान १५-१५ तथा कप्तान विराट कोहली र मोहम्मद शामीले समान १३-१३ रन बनाएा थिए। भारतका बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
न्यूजिल्याण्डको बलिङमा टिम साउथीले चार, ट्रेन्ट बोल्टले तीन, काइल जेमिसनले दुई र नील वाग्नरले एक विकेट लिएका थिए।
🙌 CHAMPIONS 🙌#WTC21 Final | #INDvNZ pic.twitter.com/MnqoZ6XzKy
— ICC (@ICC) June 23, 2021 जितसँगै न्यूजिल्याण्डले ट्रफीसहित १६ लाख अमेरिकी डलर र उपविजेता भारतले ८ लाख अमेरिकी डलरमा चित्त बुझाउनु पर्यो।
यस्तै टेष्ट च्याम्पियनसिपको तेस्रो स्थानमा पुगेको अष्ट्रेलियाले ४ लाख ५० हजार डलर, चौथो स्थानको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर र पाँचौं टिम पाकिस्तानले २ लाख डलर पुरस्कार पाएको छ ।
टेष्ट च्याम्पियनसिपमा भाग लिएका अन्य टोलीले समान एक-एक लाख डलर हात पारेका थिए।
आईसीसी टेष्ट च्याम्पियनशिपको पहिलो सिजनमा ९ टोलीले सहभागिता जनाएका थिए।