नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवन शाखाको आठौँ अधिवेशन आगामी पौष २ गते हुने भएको छ ।चितवनका शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठनको रूपमा परिचित इक्यानमा यस वर्ष नयाँ नेतृत्व चयन प्रक्रियाले संस्थाभित्र थप चहलपहल बढाएको छ ।दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने उद्देश्यले हुन लागेको अधिवेशनलाई लक्षित गर्दै विभिन्न समूहहरूबीच भेटघाट, सहमति निर्माण र प्यानल गठनका गतिविधि तीव्र गतिमा अघि बढिरहेका छन् ।यसपटक संस्थाको प्रमुख पद मानिने अध्यक्ष पदमा तीन जनाले दाबेदारी प्रस्तुत गर्ने निश्चित भएको बुझिएको छ ।आकारुइ एजुकेशन कन्सल्टेन्सीका प्रज्वल पौडेल, पेङ्गुइन एजुकेशनका सुदिप भट्टराई र आइएमआइएस एजुकेशनका भोजबहादुर खड्का नेतृत्वका प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।तिनै उम्मेदवारहरूले आ–आफ्नो पहुँच, अनुभव तथा संस्थागत उपलब्धिहरूलाई आधार बनाउँदै सदस्यहरूमाझ समर्थन बढाउने प्रयास तीव्र पारेका छन् ।
अधिवेशन नजिकिंदै गर्दा तीनै दाबेदारबीच भेटघाट, समूहगत छलफल, परामर्श र प्यानल निर्माणको रस्साकस्सी झन् बढेको देखिन्छ। आगामी कार्यकालमा कसले कस्तो प्यानल बनाएर अघि बढ्छ भन्नेबारे इक्यान चितवन भित्र र बाहिर दुवैमा चर्चा बढ्दै गएको छ ।विशेषगरी अध्यक्ष पदको प्रतिस्पर्धा त्रिकोणात्मक बनेसँगै अन्य पदहरूमा समेत समायोजन, गठबन्धन तथा सम्भावित सहमतिको सम्भावनाले संस्थाभित्र राजनीतिको जस्तै गतिशीलता पैदा गरेको सदस्यहरूको भनाइ छ ।इक्यान चितवनले विगत वर्षहरूमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन विभिन्न पहलहरू गर्दै आएको छ ।
अहिलेको नयाँ नेतृत्वबाट समेत सोही निरन्तरता कायम गर्दै प्रविधि–मैत्री सेवा, अन्तर्राष्ट्रिय शिक्षा मेलाहरूको प्रभावकारी सञ्चालन तथा परामर्श संस्थाहरूबीचको समन्वय सुदृढ हुने अपेक्षा गरिएको छ ।पौष २ गते हुने आठौँ अधिवेशनले संस्थाको आगामी दिशा–निर्देश, नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछ ।त्रिकोणात्मक प्रतिस्पर्धा भएको अवस्थामा अधिवेशनले कसको हातमा नेतृत्व जाने हो भन्नेबारे सदस्यहरू मात्र होइन, चितवनको शैक्षिक परामर्श क्षेत्र नै उत्सुक बनेर हेरेको छ ।