३१ वैशाख, काठमाडौं।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाली भाषा अध्ययन गर्ने जाने डी–२ र डी–४ भिसाको लागि मात्र अध्ययन अनुमति पत्र एनओसी रोकिएको जनाएको छ ।मन्त्रालयका अनुसार स्नातकमा आईएलटीएस र कोरियन भाषा पढेर जान लागेकाले एनओसी पाउने छन् । त्यसैगरी कोरियामा स्नातकोत्तर अध्ययनको लागि पनि एनओसी पाउने मन्त्रालयले जनाएको छ ।‘भाषा अध्ययनको लागि जानेकौ एनओसी स्थगित गरिएको हो । स्नातकमा आइएलटीएस, कोरियन भाषा पढेकाले र स्नातकोत्तरको एनओसी रोकिएको छैन,’ शिक्षा मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले भने ।
डी–२ र डी–४ भिसामा जाने विद्यार्थीहरूले दुःख पाएको गुनासो आएपछि कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । सोही आधारमा २ महिनाको लागि मन्त्रालयले एनओसी स्थगित गरेको छ । तर वैशाख २७ गतेसम्म आवेदन दिएकाले भने एनओसी पाउने मन्त्रालयले जनाएको छ ।
डी–४ भिसामा कोरिया गएका विद्यार्थी ६ देखि १ वर्षसम्म भाषा अध्ययन गर्छन् । त्यसपछि डी–४ बाट डी–२ भिसाको लागि विद्यार्थीले अर्को विश्वविद्यालयमा आवेदन दिने गरेका छन् । सो क्रममा कोरियाको कालोसूचीमा परेका विश्वविद्यालयमा भर्ना हुने गरेको दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।यो विषयमा अध्ययन उच्च शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले प्रतिवेदन बनाएपछि थप निर्णय गरिने मन्त्रालयले जनाएको छ ।