पोखरा, १७ बैशाख
गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा श्रीगण्डकी शत कुण्डी गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज (बैशाख १७ गते) देखि औपचारिक रूपमा सुरु हुँदैछ। मानव सेवा फाउण्डेशन द्वारा आयोजित यो महायज्ञ पोखरा महानगरपालिका–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर मा सञ्चालन हुनेछ।
पहिलो दिन सामाजिक अभियन्ता, पत्रकार, र आध्यात्मिक व्यक्तित्वहरूको सहभागितामा यो आयोजनले आध्यात्मिक जागरण र सांस्कृतिक संरक्षणलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यसै अवसरमा आज स्वामी कैलाशानन्द गिरीको महायज्ञमा आउने कार्यक्रम तय भएको छ । उनि हिजो साँझ ३ बजे नै पोखरा आईपुगेका छन् भने उनलाई हिजो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाजा गाजा सहित भव्य स्वागत गरिएको थियो। उनि आजदेखि ३ दिन (बैशाख १७–१९) सम्म पोखरामा रहने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराज बताउँछन् । उनको दर्शन र प्रवचनले महायज्ञलाई थप पवित्र र आध्यात्मिक बनाउने विश्वास छ। आयोजकले उनलाई स्वागत गर्दै भक्तजनलाई यो भव्य आयोजनमा सहभागी भई लाभ लिन आह्वान गरेको छ।
४१ दिनसम्म निरन्तर हवन हुने यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्ड लगायतका सामग्री लिएर सहभागी हुन आग्रह गरिएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको छ। सुश्री अनुराधा पाण्डेय र देवी प्रतिभाजीले कथा प्रबचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्। यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्।
महायज्ञमा सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।