भरतपुर, ११
भरतपुर महानगरपालिकाले समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम शुभारम्भ गरेको छ ।आज भरतपुर २२ पटिहानीमा दोस्रो चरणको अभियान शुभारम्भ गरिएको हो ।महानगर प्रमुख रेनु दाहालले कार्यक्रमको उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट बन्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताइन् ।स्वास्थ्य सेवाको पहुँच जनताको घर घरमा पुर्याउने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाईएको उनले बताईन् ।प्रमुख दाहालले नागरिकको स्वास्थ्य सेवाका लागि नै महानगरपालिकाले यस्ता योजना ल्याएको बताएकी हुन् ।भरतपुरलाई स्वस्थ शहरका रूपमा अघि बढाउन मेयर स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ ।
यस कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिकाका जेष्ठ नागरिक, अशक्त, अपाङ्गहरुको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ ।गत बर्ष ६८ बर्ष उमेर माथीका १७ हजÞार लाई घरघरमा पुगेर स्वास्थ्य परिक्षण गरिएकोमा यस बर्ष पनि ६० देखि ६८ उमेर समुहमा पुग्ने लक्ष्य महानगरले लिएको छ ।पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागू गरिसकिएको छ ।बाँकी १५ वडामा दोस्रो चरणको अभियान आजदेखि सुरु भएको हो ।यो अभियानका लागि महानगरका स्वास्थ्यकर्मी र स्वयमंसेविका जनताको घरदैलोमा पुग्नेछन् ।यस क्रममा आएका जनताका समस्याहरुलाई समाधानका लागि शिविर मार्फत स्वास्थ्य समस्या समाधान गरिने भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।यस कार्यक्रममा एक सय भन्दा बढि स्वास्थ्यकर्मी परिचालन हुने छन् ।
अभियानका क्रममा घरघर सामान्य औषधि समेत लिएर जानेछन् ।नसर्ने रोगको विषयमा बढी ध्यान दिईने छ ।भरतपुर महानगर भित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० वटा स्वस्थ्य उपचार केन्द्रहरु रहेका छन् ।शुभारम्भ समारोहमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, महानगरका स्वास्थ्य विज्ञ सल्लाहकार डा. भोजराज अधिकारी भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महत्तो लगायत जनप्रतिनिधि महानगरभित्र कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमंसेविका, र स्थानिय टोलबासीको सहभागीतामा थियो ।