विप्लव काफ्ले स्पेन ।
स्पेनमा रहेका नेपालीहरुले ´नेपाल घुमौँ` भन्ने सन्देश दिने भएका छन् । नयाँ वर्षको सन्दर्भ पारेर हुन लागेको नमस्ते बार्सिलोना कार्यक्रम मार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपालीहरु सक्रिय बनेका छन् । नेपाली जनप्रगतिशील मञ्च स्पेनले गर्न लागेको कार्यक्रमलाई बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) ले सहकार्य गर्नेछन् । बार्सिलोना विश्वभरबाट धेरै पर्यटक आउने गन्तव्य हो । विश्वकै अग्लो तथा आर्कषक चर्च साग्रदा फामीलीया अगाडि कार्यक्रम हुन लागेको हो । कार्यक्रम अप्रिल ६ गते दिउँसो साढे ३ बजेदेखि राति साढे ८ बजेसम्म हुनेछ । यो चर्च १८८२ मा निर्माण सुरु भएपनि १४३ वर्ष हुदासम्म निर्माणाधीन छ ।
यो हेर्न दैनिक १० हजार पर्यटक आउने गर्छन् । मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले नमस्ते बार्सिलोना कार्यक्रमले नेपाल घुम्ने निम्तो बाँडिने बताए । ´स्पेनबासी तथा पर्यटकलाई नेपालका घुम्ने ठाउँहरुबारे बुझाउनेछौँ`, उनले भने, ´नेपाल र नेपालीपन प्रस्तुत गर्नेछौं । २०१८ देखि मञ्चले नयाँ वर्ष र दशै-तिहारमा वर्षेनि २ पटक पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै आइरहेको छ । ढुङ्गानाका अनुसार नमस्ते बार्सिलोना कार्यक्रममा नेपाली नौमति पञ्चैबाजाहरु घन्किनेछन् । गुरुङ, नेवार, तामाङ लगायतका समुदायको भेषभुषा, नृत्य प्रर्दशन हुनेछ । म:म, सेलरोटीले दर्शक तथा पर्यटकलाई स्वागत गरिनेछ । ढुङ्गानाले नेपाली कला, संस्कृति विश्वमाझ पुर्याउन कार्यक्रम सफल हुने बताए ।
कार्यक्रम संयोजक तथा मञ्चका युरोप सचिव अर्जुन आचार्यले नमस्ते बार्सिलोना कार्यक्रम नेपालीहरुको चाडपर्व सरह स्थापित भएको बताए । ´स्पेनमा रहेका सबै नेपालीहरु सहभागि हुन्छन्, रमाउँछन्`, उनले भने, ´यो हाम्रा लागि चाडपर्व सरह बनेको छ ।´ फेस्ता तारदोर (गर्मी मौसमलाई स्वागत) अन्तर्गत साग्रदा फामिलिया अगाडि अप्रिलमा ३ दिन लगातार दैनिक ४ घण्टा कार्यक्रम हुने गर्छ । फेस्ता तारदोरकै रुपमा बार्सिलोना नगरपालिकाले नेपालीहरुसँग सहकार्य गर्ने गरेको छ । मञ्चका उपाध्यक्ष केशवराज कँडेलले अप्रिल ६ मा हुने कार्यक्रम भव्य हुने बताए । ´बार्सिलोनानै नेपालजस्तै बन्नेछ, नेपालीपन झल्किनेछ´, उनले भने, ´साँस्कृतिक कार्यक्रमले पर्यटक पनि रमाउनेछन् ।` स्पेनमा करिब २० हजार नेपालीहरु छन् । मञ्चका युरोप उपाध्यक्ष गंगा भुषालले नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपालीहरु सक्रिय बनिरहनुपर्ने बताए । ´जहाँ रहेपनि नेपाल चिनाउन लागिरहनुपर्छ´ , उनले भने, ´नेपाली कला, संस्कृति लोभ लाग्दा छन्, पर्यटकहरु रमाउछन् ।`