भरतपुर भ्रमण २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ ।भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरूका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो । भ्रमण वर्ष २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रूपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजक समेत रहेका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहेका छन् ।
यसका लागि ‘साथीलाई घर पठाऔं (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार शुरू गरिएको छ । सापकोटाका अनुसार विभिन्न देशमा नेपालीले सञ्चालन गरेका होटल, रेस्टुराँ, ग्रोसरी लगायतमा ‘भिजिट भरतपुर’को ब्रोसर, पोष्टर लगायतका सामग्री राखिँदैछ । ती देशमा स्थानीय प्रतिनिधिसँग समन्वय गरी भ्रमणको निम्तो दिइँदैछ । विश्वभर रहेका चितवनवासीका बीचमा समन्वय गरेर सन् २०२४ मा परिवारसहित आफ्नो घर फर्किन र सँगै काम गर्ने एवं चिनजान भएका त्यहाँका साथीभाइलाई यहाँ ल्याउन आग्रह गरिएको छ ।
सापकोटाले माल्टा, जापान र बेलायतका स्थानीय सरकारका प्रमुखलाई निमन्त्रण गरिसकिएको छ । अन्य देशमा निम्तो गर्ने क्रममा रहेको उनले जानकारी दिए । नेपाल सरकार र पर्यटन बोर्डले विदेशमा आयोजना गर्ने कार्यक्रममा भरतपुर भ्रमणको प्रचार समेत गर्ने कार्यक्रम राखिएको छ । चितवनवासी भएका देशमा राजदूतावासमा निम्ता दिनका लागि छोटा भिडियो, फोटोमार्फत प्रचार गरिँदै छ । विश्वका ७७ देशमा चितवनवासी भएको भन्दै उनले हालसम्म ५२ देशका चितवनवासीसँग सम्पर्क गरिएको र बाँकी देशमा सम्पर्कको क्रममा रहेको बताए ।यकिन तथ्यांक नभए पनि ५ लाख हाराहारी चितवनवासी विदेशका विभिन्न देशमा रहेको अनुमान छ ।
भ्रमण वर्षको अवसरमा २ लाखभन्दा बढी विदेशीलाई चितवन भित्र्याउने लक्ष्य लिइएको छ । सापकोटाका अनुसार गैरआवासीय नेपाली संघको ९० देशमा समिति छ । विश्वका ११८ देशमा नेपाली रहेका उनको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेष रूपमा मनाउने बताए । छिमेकी देश भारत र चीनसँगै अन्य देशमा समेत व्यापक रूपमा प्रचारप्रसार गरी चितवन पर्यटक भित्र्याउने उनको भनाइ छ । विभिन्न समितिमार्फत् काम अघि बढिरहेको उनको भनाइ छ । भ्रमण वर्षको अवसरमा संघीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोध समेत गर्न लागिएको उनले जानकारी दिए ।
देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भरतपुरलाई ‘घुमौं भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको हो । भ्रमण वर्षमा २ लाख विदेशी र ७ लाख स्वदेशी पर्यटक भित्र्याउन लागिएको उनको भनाइ छ । नेपाल र विदेशमा फरक–फरक समिति बनाएर काम अघि बढाइएको दाहालले जानकारी दिए । भ्रमण वर्षअघि नै भौतिक पूर्वाधार लगायतका काम यथाशीघ्र सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाइएको छ । भरतपुर महानगरलाई हरियाली बनाउन महानगरले बजेट विनियोजन गरी छिट्टै काम अघि बढाउँदैछ । महानगरभित्र ३० भन्दा बढी महत्त्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भन्दै उनले ती गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई घुमाइने बताए । महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएको छ, जुन विश्वमा परिचित छ । भरतपुर भ्रमण वर्षले भरतपुर मात्रै नभएर सिंगो चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दाहालको विश्वास छ ।