भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीहरूलाई सरकारले कारबाही गर्ने बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभामा आउँदाे आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी कानुनअनुसार कारबाही प्रक्रिया भइरहेकाे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयो, ‘ठगी गर्ने सहकारीहरूकाे जाँचबुझ गरी कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाएका छौँ । मन्त्रालयले अहिलेसम्म ४९ वटा जिल्लामा गरिब घरपरिवार पहिचान गरी छ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण गरिसकेकाे छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइकाे कार्यक्रम भइरहेको छ र १३ वटा जिल्लाकाे तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको छ ।’
मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण गरिसक्ने बताउनुभयो ।