प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आज आइतवार चौथो पटक पनि राष्ट्रियसभा बैठकमा अवराेध गरेकाे छ ।
राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म आफूहरूले संसदमा अवराेध गर्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनःस्थगित हुन पुगेको छ ।
बैठकमा एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरूले संसदमा अवराेध गर्ने कामलाई निरन्तरता दिने अडान राख्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड संसदमा आएर त्याे विषयको स्पष्टीकरण दिन लायक नरहेको जिकिरसमेत गर्नुभयो । सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्ने गरी अभिव्यक्ति दिने प्रधानमन्त्रीले कसरी आफूले त्याे कुरा बोलेको होइन भनेर भन्नुभएको हो भनेर प्रश्नसमेत गर्नुभयो ।
सांसद न्यौपानेले प्रधानमन्त्रीले यसअघि पनि पटक–पटक राष्ट्रघाती काम गरेको भन्दै अब सह्य नहुने चेतावनीसमेत दिनुभयो ।
एमालेकाे अवराेधपछि राष्ट्रियसभाकाे बैठक अब भाेलि साेमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएकाे छ ।