नेकपा एमालेसहितका प्रतिपक्ष दलहरूको अवराेधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
बैठककाे आकस्मिक समयमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गर्नुभयो । त्यसपछि प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर बैठक अवराेध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएकाे हाे ।
यस्तै एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक–पटक भारत गएको भन्ने अभिव्यक्ति दिएको विरोधमा एमालेले बैठकमा अवरोध गरेको हो ।
एमाले संसदीय दलको बैठकले प्रतिनिधिसभाको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले भने पुस्तक विमोचनमा प्रीतम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाउनुभएको छ ।