खागका लागि करेन्ट लगाएर गैंडा मारेको आरोपमा पक्राउ परेका तीनजनालाई चितवन निकुञ्ज कार्यालयले बुधबार निकुञ्ज मुख्यालय कसरामा सार्वजनिक गरेको छ ।उनीहरूले गत माघ ६ गते नवलपुर मध्यविन्दु नगरपालिकाको नारायणी किनारमा करेन्ट लगाएर गैंडा मारेको निकुञ्जको अभियोग छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई जेठ १२ गते पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका-१८ धरमपुर मन्दिर टोलका कृष्णबहादुर महतो, सिखाराम थारू र होमबहादुर विक रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।होमबहादुरको घरमा खागको कारोबार हुन लागेको भन्ने सूचनाको आधारमा सिआइबीले उनीहरूलाई पक्रेको जानकारी प्राप्त भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । सिआइबीले उनीहरूलाई सुरूमा नवलपरासीको डिभिजन वन कार्यालयलाई बुझाएको थियो ।
वन कार्यालयको अनुसन्धानमा उनीहरूले कारोबार गर्न लागेको खाग चितवन निकुञ्ज आडमा मारेको गैंडाकै रहेको पुष्टि भएको प्रमुख संरक्षण अधिकृत पुनले बताए । नवलपरासी जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशन बमोजिम उक्त मुद्दा जेठ ३० मा चितवन निकुञ्जमा सरी आएको उनको भनाइ छ ।
गत माघ ६ गते बिहान नपलपुर मध्यविन्दु नगरपालिका-२ सितापुर क्रान्तिघाटदेखि तीन सय मिटर दक्षिण नारायणी नदीको भंगालोमा करेन्ट लागेर दुईवटा गैंडा मरेका थिए । एउटा लगभग १४ वर्षको पोथी गैंडाको खाग पनि काटेर लगेका थिए । आडैमा खाग नउम्रेको भाले बच्चा गैंडा पनि करेन्ट लागेर मरेको थियो । करेन्ट लगाउने काममा कृष्णबहादुर महतो सरिक भएको निकञ्जको आरोप छ ।
त्यसपछि उनले सिखाराम र होमबहादुरसँग मिलेर खागको कारोबार गर्न लागेको आरोप छ ।