काठमाडौं – आजदेखि नयाँ नागरिकता ऐन कार्यान्वयनमा आउने भएको छ । गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाएसँगै अब नयाँ ऐन अनुसार नागरिकता प्रमाणपत्र वितरण सुरु हुने भएको हाे ।
जेठ १७ गते राजपत्रमा नागरिकता ऐन संशोधन भएको सूचना प्रकाशित भएपछि यो कार्यान्वयनमा आइसकेको गृह मन्त्रालयको जनाएकाे छ । नयाँ ऐनमा व्यवस्था भएबमोजिम आज (आइतबार) देखि जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकता प्रमाणपत्र जारी हुने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ ।
गृहको परिपत्रसँगै आइतबारदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन् । नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने छन् ।