राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणलाई लिएर प्रधानमन्त्रीले मुटु कमाएको बताएका छन्। बिचौलियाले नाम लिएकाहरुमाथि कारबाही गर्न हिच्किचाएको बताउँदै उनले अहिलेसम्म राजनीतिक नेतृत्व र कर्मचारी मिलेर भ्रष्टाचारकाण्ड मच्चाएको पनि बताएका छन्।
‘राजनीति र प्रशासनको मिलेमतोमा भ्रष्टाचारकाण्ड भएका छौँ तर हामीले सामान्य बनायौँ। बालुवाटारभित्र पैसा बुझाएको, सिंहदरबारभित्र, मन्त्री क्वार्टरभित्र पैसा बुझाएको कुरा आएको छ’, उनले भने, ‘यो प्रकरणमा नाम जोडिएजतिलाई बयान लिनुपर्छ।’ उनले यो प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुटु नकाम्ने बताएको प्रसंगमा पनि उनले निकाले।
‘प्रधानमन्त्रीले मुटु काम्दैन भनेको सुनेको थिएँ। म प्रधानमन्त्रीको मुटु जाँच गर्न चाहन्छु, कुन अस्पतालमा जाने हो’, उनले भने, ‘तपाईंहरु तीन पार्टी बसेर खासखुस गर्नु भएको थियो, त्यसको गन्ध अहिले देशभर ठासठुस आइरहेको छ।’