भरतपुर । आईपीएम कृषक पाठशाला रासायनिक विषादी न्यूनीकरणका लागि एक प्रभावकारी कार्यक्रमका रुपमा स्थापित हुँदै गएको छ ।यसलाई किसान समक्ष पु¥याउन विभिन्न कार्यक्रमहरु हुँदै आईरहेका छन् ।
यसैक्रममा भरतपुर महानगरपालिका कृषि शाखाको सहयोगमा भरतपुर १४ हनुमाननगरका किसानहरुलाई लक्षित आईपीएम कृषक पाठशाला प्रदान गरिएको छ ।सो पाठशालाको उद्देश्य कृषकहरुलाई रासायनिक विषादीको विकल्पका रुपमा (एकीकृत शत्रुजीव व्यवस्थापन) विधिबारे व्यवहारिक ज्ञान र सीप प्रदान गरी विषादीरहित खाद्यान्न उत्पादन गर्न उत्प्रेरित हो ।नेपालमा वर्षेनी विषादीको बढ्दो आयात र विभिन्न अध्ययन अनुसन्धानले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा क्यान्सर लगायत अन्य दिर्घरोगहरु बढ्दै गएको देखिएको छ ।
तालीममा विषादी प्रयोगको अवस्था र यसले मानव स्वास्थ्यमा पारेको असरको बारेमा चर्चा गरिएको थियो ।स्वस्थ बीउ उत्पादन सम्बन्धि विभिन्न तरिका, सुधारिएको गोठेमल, कम्पोष्टमलको फाइदा र बनाउने तरिका, जैविक विषादी र बोकासेमल बनाउने तरिका, बालीमा लाग्ने मुख्य रोग किरा तथा शत्रुजीव र मित्रजीवको पहिचान, व्यवस्थापन लगायतका विषयहरु पाठशालामा किसानहरुलाई जानकारी गराइएको थियो । आईपीएम सहजकर्ता रामचन्द्र बस्ताकोटीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र साँखी, श्रीराम कृषक समुहका अध्यक्ष बुद्धि चापागाई, अग्रज कृषक भरत पौडेल लगायतले आईपीएम विधि विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।