इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई)का प्रमुख इमरान खान पक्राउ परेका छन् । मंगलवार उच्च अदालत बाहिरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए। तर, अदालत बाहिरबाट नै उनलाई अर्धसैनिक बलका अधिकारीहरूले पक्राउ गरेको पाकिस्तानी समाचार संस्था डनले पुष्टि गरेको छ ।
हालै पूर्वप्रधानमन्त्री खानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिराबादमा आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए । पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको थियो । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका थिए । करिब ४ घण्टापछि उनलाई अदालतबाट पक्राउ गरिएको हो ।
त्यतिमात्र नभएर खानका वकील तथा समर्थकहरुलाई पनि कुटपिट गरिएको छ । अदालत बाहिर सुरक्षा व्यवस्था कडा गरिएको छ । खान पक्राउ परेपछि इस्लामाबादमा तनावको स्थिति उत्पन्न भएको छ ।