चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्न लागिएको बताउनुभएको छ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा निर्माण भएको पार्कको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको निर्माण चरण सकिएपछि हरियाली प्रर्वद्धन केन्द्रित हुने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले भरतपुर चारैतिर जंगल, दुई ठूला नदी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएपनि थप बस्तीम हरियाली प्रर्वद्धन गरी सुन्दर बगैँचाको रुपमा विकास गर्न खोजिएको जानकारी दिनुभयो ।
भरतपुरलाई बगैँचाको रुपमा विकास गर्न सबैभन्दा पहिले महानगरपालिका परिसरमा उदाहरणीय पार्क निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
प्रमुख दाहालले भरतपुरको सरकारी कार्यालयबाट हरियाली प्रर्वद्धनको सेन्देश प्रवाह गर्न सबै कार्यालयमा यस्ता पार्क निर्माण गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
भरतपुरका सबै सडकको दायाँबाँया हरियाली प्रर्वद्धन हुँदा भरपतुर सुन्दर बगैँचाको रुपमा स्थापित हुने र यसलाई पर्यटनसँग जोड्न सकिने उहाँको भनाई थियो ।
भरतपुरका मूख्य दुई घोल केरुडगा र पुंगीलाई संरक्षण गरी हरियाली सौन्दर्यकरण गर्ने काम भईरहेकाले पनि भरतपुर हेर्न लायक सहरका रुपमा विकास भईरहेको प्रमुख दाहालले बताउनुभयो ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कृषि विकास बैँक रु १५ लाख र क्यान्सर सेवा समाजको साढे ३ लाखमा पार्क निर्माण गरिएको हो । करिब २ विगा क्षेत्रफलमा निर्माण गरिएको पार्कले क्यान्सर अस्पतालमा उपचारमा आउने विरामीलाई घुमघाम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
रोग निको हुन शारीरिक र मानसिक रुपमा तन्दरुस्त हुनुपर्ने भएकाले विरामीमैत्री अस्पतालको लागि पार्क निर्माण गरिएको अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमले बताउनुभयो ।