भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष कायमै रहने बताएका छन् । प्रेस सेन्टर चितवनले आज भरतपुरको शिवनगरमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले सरकार ढल्ने भ्रममात्रै भएको जीकिर गरे । “सरकार ढल्छ भन्ने निकै ठुलो भ्रम छ”, उनले भने, “यो सरकार ५ वर्षनै चल्छ ।” उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आउनका लागि छलफल भैरहेको बताए ।
“उहाँले पनि पार्टीमा सल्लाह गर्दैहुनुहुन्छ, हामीले पनि गठबन्धनमा छलफल गर्दैछौँ”, उनले भने, “उहाँले सरकारलाई दिएको समर्थन फिर्ता दिने कुरा छैन, उहाँसँग छलफल भैरहेको छ ।” उनले रविले पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक नभएपनि उहाँ त्यसैमा नअडिने बताउँदै सहमतिबाटै टुंगोमा पुगिने बताए । केहिदिनमै फेरी बैठक बसेर टुंगाउने छौँ”, उनले भने, “यो सरकार यताउति हुन्छ की भन्ने भ्रम हो ।”
उनले पूर्व लडाकुलाई रकम दिने निर्णय वर्तमान सरकारले नगरेको बताए । २०७१ सालको सरकारले गरेको निर्णय कार्यान्वयनमात्रै गरिएको बताए । तत्कालिन समयमा अर्थमन्त्री बिष्णु पौडेल रहेको र काङ्ग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको बिषय भएको बताए । प्रधानमन्त्री प्रचण्डले आर्थिक समस्याका कारण किस्ताबन्दिमा लडाकुहरुलाई रकम दिने बिषयमा छलफल भईरहेको जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीप्रतिको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको बताए । राजा र तीनका समर्थक लागेर आक्रमण गरेको भन्ने विषय गम्भीर भएको बताए । उनले महाविर पुनको मागहरु सम्बोधन गर्न सरकार तयार भएको बताए ।