काठमाडौँ– प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री आज चितवन आउदैछन् । लोकतान्त्रिक–वाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू चितवन आउन लागेका हुन् ।
वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन आउन लागेका हुन् ।
आज दिउँसो ३ बजे कालिका नगरपालिका–४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरू जान लागेको कांग्रेस चितवनका सचिव सूर्य अर्यालले जानकारी दिए ।
उनका अनुसार सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनीरू बाराको चुनावी सभालाई सम्बोधन गरेर चितवन आउन लागेका हुन् ।
त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको सबै तयारी पूरा भएको सचिव अर्यालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रधानमन्त्री हेलिकप्टरमा कालिका नगरपालिकामा आएर त्यहीबाट फर्कने कार्यक्रम रहेको बताए ।