सौराहामा मंगलबार राति हात्तीको सुँड काटिएपछि विस्तृत अनुसन्धान सुरु गरिएको छ ।घटना स्थलमा पुगेर चितवन राष्ट्रिय निकुञ्ज सेक्टर सौराहाले अनुसन्धान थालेको हो । अनुसन्धानका लागि त्यहाँ नेपाली सेनाको टोलीले तालिमप्राप्त कुकुरको प्रयोग समेत गरेको थियो । गएराती सुँड काटिएको चञ्जलकली नामको हात्ती करिब ४५ वर्षको छ ।
यस्तै, आक्रमणकारीलाई खोजेर कारबाही गर्न रत्ननगर उद्योग वाणिज्य संघले माग गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघले आज एक विज्ञप्ति जारी गर्दै सौराहाका पर्यटन व्यवसायी दिपक खतिवडाको घरपालुवा हात्तीलाई हतियार प्रहार गरी सुँड काटिएको घटनाको संघले भत्सर्ना गरेको हो ।
संघले उक्त घटनामा संलग्नलाई तत्काल खोजी गरी कारबाहीको लागि सम्बन्धित निकायको विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएको छ । संघले विज्ञप्तिमा सौराहाका व्यवसायीले दिनदिनै असुरक्षित महसुस गरिरहेको भन्दै हात्तीमाथि आक्रमण गरिएको जस्ता निन्दनीय घटना फेरि दोहोरिन नदिन सरोकारवाला निकायलाई हार्दिक अपिल पनि गरेको छ ।