कसैले सुनेनन् मैले हारगुहार गर्दा पनि
अझ कसैले बुझेनन् भूलसुधार गर्दा पनि
गैंडाकोटमा शनिबार आयोजना गरिएको कार्यक्रममा बुटवलका स्रस्टा रोहित रानाले गजल सुनाएका छन् । गजल मञ्च चितवनले आयोजना गरेको एकल गजल वाचन कार्यक्रममा गजलकार रानाले विभिन्न भाव र पृष्ठभूमिका गजल प्रस्तुत गरे ।
कार्यक्रमको सुरुवातमा रानाले आफ्नो हारगुहार कसैले नसुनेको गुनासो गजलमार्फत सुनाए । आफूले गरेको भूलसुधारलाई पनि कसैले बुझ्ने चेष्टा नगरेको रानाको दुखेको थियो ।
जिन्दगीले प्रश्न गरिरहन्छ बारम्बार मसँग
तर पनि उत्तर दिनलाई छैन आधार मसँग
लगत्तै रानाले अर्को गजल प्रस्तुत गरे । यो गजलमार्फत उनले जिन्दगीले आफूलाई प्रश्न गरिरहेको त्यसको उत्तर भने आफूसँग नभएको बताए । लगत्तै उनले तरन्नुम सुनाए । चिट्ठीमा लेखिएको प्रेमीकाको नाम र नाम भएको खाम दुबैको माया लाग्ने भाव उक्त गजलमा थियो ।
किन तिम्रो नामको पनि माया लागेर आउँछ
चिट्ठीसँगै खामको पनि माया लागेर आउँछ
तिमी पाउँदा यस्तो लाग्यो जीवननै उज्यालो भयो
जूनतारा घामको पनि माया लागेर आउँछ ।।
कार्यक्रममा रानाले करिव २० वटा गजल सुनाए
। तीन वटा गजललाई तरन्नुममा प्रस्तुत गरेका थिए । कार्यक्रममा गजल मञ्च चितवनका सचिव सरगम पारु र सदस्य कृष्णप्रसाद सिम्खडाले रानाका १/१ गजल वाचन गरेका थिए ।
राना रोजगारीका क्रममा अमेरिकामा बसोबास गर्छन् । परिवार छाडेर प्रवासमा बस्दा उनले घरी परिवार सम्झन्छन्, घरी आफ्नै जिन्दगी । त्यतिबेला फुरेको गजललाई यसरी उतार्छन् :
रहेन यार जिन्दगी पनि जिन्दगी जस्तो
लाग्दैछ साहुकोमा राखेको बन्धकी जस्तो
कार्यक्रममा गजलकार रानाकी आमा, श्रीमती र छोराछोरी पनि सहभागी थिए । परिवारका सदस्यलाई अगाडि राखेर रानाले गजल सुनाए । गैंडाकोटस्थित नारायणी रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा गजल मञ्च चितवनका पूर्वअध्यक्ष पुष्प अधिकारी अञ्जलीले गजलकार रानाको गजलकारिता बारेमा बोलेका थिए ।
मञ्चका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमलाई उपाध्यक्ष रामकृष्ण अनायासले सहजीकरण गरेका थिए ।
कार्यक्रममा धनराज गिरी, रमेश प्रभात, निर्दोष जीवन, सुमन अविरत, विनोद अनुज, गणेश श्रमण, सिम्रन क्षेत्री, आकाश पौडेल, देवी शर्मा, गीता पौडेल ढकाल, अविरल यात्री, तेजेन्द्र राना, गोविन्द रिमाललगायतको उपस्थिति थियो ।