भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण कार्य रोकिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको समस्या छिटै समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्दै उनले दुई हप्ताभित्रै रंगशालाको समस्या हल हुने दाबी गरे । उनले भने, “चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुन्छ, निर्माण कार्य अगाडी बढ्छ ।” भरतपुर–१५ मा निर्माणाधिन रंगशाला आर्थिक संकट आएपछि निर्माण कार्यनै रोकिएको छ ।
झण्डै डेढ वर्षदेखि निर्माण कार्य अलपत्र छ । रंगशाला निर्माणमा १८ करोड बढी ऋण लागेको भन्दै धुर्मुस सुन्तली फाउण्डेसनले महानगरलाई ऋण तिरेर स्वामित्व लिन आग्रह गरेको थियो । भरतपुर महानगरका मेयर रेनु दाहालले निर्माण कार्य रोकिएको रंगशालाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । उनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशाला निर्माणमा देखिएका जटिला छिटै समाधान गर्न आग्रह गरेकी थिइन् ।