चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताए । आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।
‘आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज नसकिए भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पनि मलाई लाग्छ, तपाईं हामी सबैको लागि खुसीको कुरा हो ।’
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गरिँदै छ ।टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।७ हजार ७४९ वर्गमिटर क्षेत्रफलमा अत्याधुनिक टर्मिनल भवन बनाउने योजना छ ।