भरतपुर । अलपत्र बनेको भरतपुरको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा उधारो काम गरेका निर्माण व्यवसायीहरुले बैशाखदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनका सिताराम कट्टेलले रंगशाला निर्माणका बेला १८ करोड ४३ लाख बराबरको ऋण लागेको सार्वजनिक गरेका थिए । तर, उधारोमा काम गरेका निर्माण व्यवसायीहरुले मुख खोलेका थिएनन् । स्रोतका अनुसार झण्डै १० करोड रुपैयाँ चितवनकै निर्माण व्यवसायीहरुले लिन बाँकी छ ।
रंगशालाभित्र ढलान, पिल्लरको काम गरेको चितवन रेडिमिक्सले ३ करोड ५६ लाख ४२ हजार रुपैयाँ फाउण्डेसनसँग लिन बाँकी छ । चितवन रेडिमिक्सका अध्यक्ष राजेन्द्र पन्तले झण्डै १ वर्ष काम गर्दा आधामात्रै रकम पाएको दुखेसो पोखे । कपुरबोट मिडियासँग कुराकानी गर्दैै उनले रंगशालामा ७ करोड ११ लाख बराबरको काम गर्दा अझै ३ करोड ५६ लाख ४२ हजार रुपैयाँ पाउन बाँकी रहेको बताए । “चैत महिनासम्म कुर्छौँ, सरकारबाट केही निर्णय नभए हामी आन्दोलनमै जानुको विकल्प छैन”, उनले भने, “कानुनी उपचारको खोजिमा जानुपर्छ ।”
चितवन रेडिमिक्सले २०७७ साउनदेखि २०७८ साउन १२ सम्म काम गरेको थियो । रकम निकासा नभएपछि तीन पटकसम्म सम्झौता गर्दै निर्माण सामाग्री पठाइएको थियो । पिल्लरमा एम ३५, अरु ढलानमा एम २५ कंक्रिट प्रयोग भएको थियो । झण्डै १३ किमि पर रहेको रंगशालालाई सामाग्री पठाउँदै आएको चितवन रेडिमिक्सले सामान पठाउन छाडेपछि निर्माण कार्य रोकिएको थियो । “चेकहरु नसाटिएर थुप्रिएका छन्, चेक बाउन्सको मुद्धा चलाउन खोजेका थियौँ, तर रोकियौँ”, उनले भने, “६ महिना यता कर्मचारीलाई पनि तलब खुवाउन सकेका छैनौँ, उधारो दिदादिदै टाट पल्टिने अवस्थामा छौँ ।”
उनले रंगशाला निर्माण कार्यलाई छिटै गती दिन सरकारसँग आग्रह गरेका छन् । “धुर्मुसले इमान्दार बनेर काम गरिरहेकै थिए, पछि बोलकबोलको पैसा नउठेपछि रंगशाला संकटमा प¥यो”, उनले भने, “महायज्ञको स्मारिकामा बोलकबोल रकम देखेरै सामाग्रीहरु पठाइरह्यौँ, तर भुक्तानी आएन ।” उनले राष्ट्रिय गौरवको आयोजनाका लागि व्यवसायीले ऋणको चपेटामा परेर पनि उधारोमा सामानहरु दिएर योगदान गरेको दाबी गरे । “सरकारले सबैको ऋण भुक्तानी गर्ने निर्णय गरोस्”, उनले भने, “पैसा पाउने आशले सामान दिएका व्यवसायीलाई घरनघाटको बनाउने काम नहोस् ।”