काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।
गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि कुँवर वरियतामा अगाडि आएका थिए । एआईजी बढुवासम्म आइपुग्दा उमेर विवादका कारण अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि उनी महानिरीक्षकका लागि बलियो प्रतिष्पर्धी बने । कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख थिए । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गरेका थिए ।
अर्घाखाँचीका कुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनी प्रहरीभित्र हक्की स्वभावका व्यवसायिक अधिकृत मानिन्छन् । आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन् ।