काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगलाई धम्की दिने गरिएको दाबी गरेका छन् । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले नै त्यस्तो धम्की दिइरहेको उनको दाबी छ । माओवादी केन्द्रको नाम नलिइ उनले मानवअधिकार आयोगलाई घेराबन्दी गर्ने, तर्साउने र धम्क्याउने काम भइहेको आरोप लगाए । काठमाडौंमा मंगलबारदेखि सुरु भएको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनमा ओलीले मानव अधिकार हननको विषय उठाउँदा माओवादीले खिया लागेको हतियारको धम्की दिने गरेको टिप्पणी गरे । माओवादीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका विषयमा कुरा उठाउँदा बन्दुकको धम्की दिएको आरोप ओलीले लगाए ।
उनले मानवअधिकारको रक्षाका लागि लड्न पार्टीनिकट एलाइन्सलाई निर्देशन समेत दिए । ‘मानवअधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन,’ उनले भने, ‘त्यसकारण हाम्रो एलाइन्स आफैँमा मानवअधिकारप्रति समर्पित, इमानदार हुनुपर्दछ । मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लड्न सक्ने त्यो हुनुपर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन् ।’
अध्यक्ष ओलीले नेपालमा मानवअधिकार उलंघनकर्ताले नै बढी मानवअधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने बताए । अध्यक्ष ओलीले सत्तामा रहेको पार्टीले आतङ्ककारी क्रियाकलाप गरिरहेको पनि आरोप लगाए । अध्यक्ष ओलीले माओवादीभित्रको डरका कारण परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई मानव अधिकारसम्बन्धी कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेको बताए ।
‘परराष्ट्रमन्त्री मानव अधिकारसम्बन्धी कार्यक्रममा भाग लिन एयरपोर्टमा पुग्यो भने मान्छे पठाएर झोला खोसेर फर्काउँछन् । डराउँछन् । त्यो डर त्रासले हो । किनकी अपराध गरेको छ । मन्त्रीले अन्तर्राष्ट्रिय फोरममा बोल्यो भने त्रास,’ उनले भने । अध्यक्ष ओलीले वडा सदस्य जित्न गठबन्धनले मान्छे मारेको पनि दाबी गरे । उनले बाजुरामा आफ्ना विद्यार्थी नेतालाई वडा सदस्य जित्न गठबन्धनले हत्या गरेको आरोप लगाए ।