भारतको भवानीपुर वस्ती नेपाली पानीको भरमा बाँचेको छ । पर्साको ठोरी र भारतको भिखनाठोरीको सिमामा रहेको ठुटे खोलाको पानीले भवानीपुरलाई सयौँ वर्षदेखि बचाइरहेको छ । ठुटेखोलाको पानी भिखानाठोरी, डुम्मरवाना, भवानीपुर, जमुनियाँ लगायतका वस्तीसम्म पुगेको छ । नेपाली पानीकै भरमा भारतीय किसानले खेतीपाति गर्दै आएका छन् । ठुटे खोलामा पुल बनेपछि पुरिएको नहर सुचारु गर्न भारतीयहरु आन्दोलनमै उत्रिएका थिए ।
पुलको मुखमै नहर परेपछि ह्युमपाइप राखेर खोलाको पानी बाँडफाडको विवाद नमिल्दा झण्डै ८ वर्ष भारतीयहरुले नेपाली पानी प्रयोग गर्न पाएनन् । पछि नेपालतर्फ एउटा र भारततर्फ एउटा नहर लैजाने सहमति भएपछि ठुटे खोलाको पानीले खेत सिँचाई गर्न पाएका छन् । भवानीपुरका भारतीय नागरिक शिवनाथ यादव ठुटे खोलाकै पानी लगाएर उखु हुर्काएका छन् । “पानीको मुहान छैन, बोरिङ पनि छैन, नेपालकै पानीको भर पर्नुपर्छ”, उनले भने, “पानीकै कारण नेपालप्रतिको माया लाग्छ, हामीलाई नेपालकै पानीले बचाँएको छ ।” उनको ५ विघा जग्गा छ ।झण्डै ७ किमि परको सीमावर्ती क्षेत्रको खोलाको पानी खेतमा लगाउँदै आएका छन् ।
भवानीपुरको झण्डै २ हजार विघामा ठुटे खोलाकै पानी सिँचित हुने गर्छ । भवानीपुरकै जयनाथ महतोले पुस्तौदेखि नेपाली पानीको भरमा खेती गर्दै आएको बताउँछन् । “सिचाई र गाईभैसीका लागि नेपालकै पानी प्रयोग गरेका छौँ”, उनले भने, “भवानीपुरमा पानीको निकै समस्या छ, जीउने आधारनै नेपालकै पानी बनेको छ ।” पीउने पानीका लागि भने कलधाराहरु छन् ।
सुख्खा जमिन भएकाले सिँचाईका लागि भवानीपुरबासीले निकै सास्ती खेप्दै आएका छन् । असर्फी यादवले सिँचाईका लागि समेत नहरको पानी अप्रयाप्त भएको बताउँछन् । “पहिले पहिले नहरमा धेरै पानी आउथ्यो, अहिले पानी थोरै आउँछ”, उनले भने, “५ विघा जग्गा छ, खेतीका लागि पानी लगाउँदा पालो लगाउनुपर्छ ।”
अरविन्द महतोले नेपालको पानी वरदान भएको बताउँछन् । “पूर्खाहरुले पनि ठुटे खोलाकै पानीले खेती लगाए”, उनी भन्छन्, “खोला सुकेपछि फागुन, चैत, बैशाखमा निकै समस्या हुन्छ, नेपाली पानी नभएको भए भोकमरी लाग्थ्यो ।” उनका अनुसार ठुटे खोलाको पानीका लागि करिब ६ महिना पहिले १० दिन धर्नानै बस्नुपरेको बताए । “सिमामा परेको खोला भएकाले पानीका लागि विवाद आउन दिनुहुदैन”, उनले भने, “पानीका लागि लफडा हुनुदैन, नेपाल–भारत सरकारले सहजीकरण गर्नुपर्छ, खेर गएको पानी सदुपयोग हुनुपर्छ ।” ठुटेखोलाबाट पहिले २ वटा नहर भारततर्फ जाने गर्दथे । तर, आजकल एउटामात्रै नहरमा पानी पठाइएको छ ।
ठुटेखोलाको पूर्वतर्फ पुलको करिब ३० मिटर दक्षिणमा नेपाल–भारत सीमा स्तम्भ पनि छ । नेपालतर्फ गएको नहरबाट ठोरी गाउँपालिकाको वडा नं ३ को रामनगर, बुद्धनगर लगायतका वस्तीमा पानी पुग्छ । करिब ५ वर्ष पहिले भवानीपुरमा सोलारमा आधरित एउटा बोरिङ राखिएको थियो । सो बोरिङबाट १ सय घरधुरीमात्रै लाभान्वित छन् । भिखनाठोरी आंगनबाड़ी केन्द्र, भिखनाठोरी बजार क्षेत्रमा पीउने पानीको समेत समस्या छ । ट्यांकरमै हरेक दिन पीउने पानीको व्यवस्था मिलाइएको छ ।