काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए।
उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो। एमाले र कांग्रेस एक ठाउँमा नआउने भनेर कसम खाएको छैन। राष्ट्रपतिले देशप्रति बफादार भएर संविधानको रक्षक हुनुपर्छ। पालकको हिसाबले देशको अभिभावकको भूमिका वहन गर्नुपर्छ। आलोचना संकीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगर्ने कुरा गरेका छन्।’ अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण रूपमा काम गरेको समेत दावी गरे।