काठ्माण्डौ । राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । राष्ट्रपति पदका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले नेता सुवास नेम्वाङ आँफुलेनै जित्ने दाबी गरेका छन् । नेता पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरे । पौडेलल राष्ट्रपति निर्वाचित भए उदाहरणीय बन्नेसमेत बताए । ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरुले देख्न पाउनुहुन्छ,’ उनले भने ।
यस्तै एमाले नेता नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका छन् । उनले आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने प्रयास गरेको उल्लेख गरे । ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ’, उनले भने ।