काठमाडौं । नेपाली कांग्रेसले फागुन १९ गते हुने सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई निर्वाचित गराउनका लागि सातवटै प्रदेशका पदाधिकारी खटाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
Advertisement
सत्ता गठबन्धनका ८ दलले १९ गते सम्बन्धित प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेका थिए ।राष्ट्रपतिका लागि सहकार्यमा रहेका दलका प्रदेश सभा र प्रतिनिधि सभाका सांसदहरूको संयुक्त उपस्थितिमा बिहीबार छलफल गर्ने जनाइएको छ ।
फागुन २४ गते पुनः छलफल हुने जनाइएको छ । भेलामा पुरानो गठबन्धन ब्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने बारेमा प्रशिक्षण दिइने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।