गुल्मी। गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । १ साताको अवधिमा जिल्लामा २ सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको ३ लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताए ।
त्यस्तै सोही गाउँपालिका–७ रूपाकोटको साना किसान कृषि सहकारी संस्थाबाट ५ लाख रुपैयाँभन्दा बढी रकम चोरी भएको थियो । ४ दिनअघि राति च्यानल गेटको साँचो तोडेर रकम चोरी भएपछि अनुसन्धान अगाडि बढाइएको मजुवा प्रहरीचौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक राजु थापाले बताए । यसैगरी रेसुंगा नगरपालिका–७ का विभिन्न मन्दिरमा पनि चोरी भएको थियो । फागुन पहिलो हप्ता सिस्नेहार शिवालय मन्दिरमा काँसको घन्टी, तामाका गाग्री तथा कलश, त्रिशूल, जलधारी, काँचको कचौरा, शंख र भेटी चोरी भएको त्यहाँका वडाध्यक्ष रामजी पन्थीले जानकारी दिए ।
त्यस्तै वडा– ७ कै सिस्नेहार कुलायन मन्दिरबाट घन्टी, तामाको बेला चोरी भएको थियो भने नेटाको राम मन्दिरबाट घन्टी, शंख, तामाको थालीलगायत सामग्री चोरी भएको वडाध्यक्ष पन्थीले बताए । उनका अनुसार स्थानीय पुनाराम पाण्डेयका गाग्री, ताउला र थाल चोरी भएका थिए । स्थानीय प्रकाश मरासिनी, देवीराम पन्थी र जीवन पन्थीका दाउरासमेत चोरी भएको जानकारी आएको थियो । रातिको समयमा चोरीसँगै गाउँका घरमा ढोका र चेनगेटमा हान्ने गर्न थालेपछि स्थानीयबासी आतंकित भएको वडा– ७ निवासी शालिकराम पन्थीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले मन्दिर तथा सहकारीमा भएको चोरीको विषयमा अनुसन्धान भइरहेको बताए । उनले चन्द्रकोट गाउँपालिकामा सहकारीको चोरीका विषयमा स्थानीय चौकी र जिल्लाबाट गएको अनुसन्धान अधिकृतको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।