काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय परेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी परेको हो । एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन फिर्ता लिएको छैन । राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा आठ मन्त्रालय थिए । राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद विस्तार र पुनर्गठन गर्दा चुनावलाई थप सहयोग हुने र कतै आशंकाहरु पनि बाँकी नरहने भएकाले प्रधानमन्त्रीले यसबारेमा चाँडै निर्णय लिँदा उपयुक्त हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
अहिले प्रधानमन्त्री प्रचण्डको साथमा एमालेले सम्हालेका ८ सहित १६ मन्त्रालय छन् । माओवादी केन्द्र र जनमत पार्टीबाहेक सरकारबाट अरु सबै दल बाहिरिएकाले पनि राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने विषयमा बालुवाटार बैठकमा पनि छलफल भएको थियो । मन्त्रालय बाँडफाँड हुँदा अब एमाले, राप्रपा र रास्वपाले छाडेकासहित प्रधानमन्त्रीसँग यसअघि नै जसपाका लागि भनेर राखिएका मन्त्रालय बाँडिनेछन् । हाल प्रधानमन्त्रीसँग रहेको गृह मन्त्रालय माओवादीले नै राखेर अर्थ मन्त्रालयले कांग्रेसले लिने समझदारी भइसकेको बताइन्छ ।
यसअघि एमालेले पाएका मन्त्रालय कांग्रेसले पाउने मोटामोटी सहमति भएको छ । जसपा र नेकपा एसले तीन तीनवटा मन्त्रालय दाबी गरेका छन् । यसअघि जसपाले २ मन्त्रालय अस्वीकार गेरर सरकारमा गएको थिएन । प्रतिनिधिसभामा जसपाको १२ र नेकपा एसको १० सीट छ ।यसअघि भन्दा माओवादीले कम्तिमा एउटा मन्त्रालय बढी पाउने निश्चित भएको छ भने कांग्रेसले एमालेले पाएको नघट्ने र थप एक मन्त्रालय पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
जसपालाई ३ मन्त्रालय र नेकपा एसलाई २ मन्त्रीसहित एक राज्यमन्त्री दिने सम्भावना छ । नागरिक उन्मुक्ति पनि एक मन्त्रीसहित सरकारमा जाने तयारी छ ।राष्ट्रिय जनमोर्चा सरकारमा जाने वा नजाने निर्णय भएको छैन । लोकतान्त्रिक समाजवादी पार्टीले एउटा मन्त्री पाउने निश्चित छ । यद्यपि उसले २ वटा मन्त्रालय मागेको छ ।