काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णयसँगै बनेको आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका हुन् । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको छ भने नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
२५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । प्रधानमन्त्री दाहालले त्यसअघि विश्वासको मत लिने वा त्यसपछि मात्रै लिने भन्ने विषयमा गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्न लागेका हुन् । तत्कालको सत्ता गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले राप्रपाले समर्थन फिर्ता लिएपछि अब ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यतामा छन् ।
एमालेले राष्ट्रपति निर्वाचनपछि मात्रै सरकार छोड्न सक्ने नेताहरुको भनाइ छ । यस्तोमा राष्ट्रपति निर्वाचन अगावै विश्वासको मत लिने या पछि लिने भन्नेमा प्रधानमन्त्री दाहाल दोधारमा छन् ।गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेको छ भने एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।